चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको तयारी रहेको नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहनस्वरुप नाइकी ब्रान्डको किट्स ब्याग हस्तान्तरण गरिएको छ।
उक्त सहयोग गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले उपलब्ध गराएका हुन्।
कतारमै रोजगारीको सिलसिलमा रहेका पूर्व खेलाडी टेकप्रसाद गोतामे (ज्याकी चेन) को पहलमा एनआरएनए कतार अध्यक्ष भट्टले नेपाली महिला फुटबल टिमलाई प्रोत्साहन स्वरुप किट्स ब्याग सहयोग गरेका हुन्।
कतारमा व्यवसाय गर्दै आएका भट्टले सामाजिक कार्य गर्दै आएका छन्। विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका भट्टले आगामी दिनमा पनि नेपाली खेलकुद क्षेत्रमा सहयोग गर्ने बताएका छन्।
भट्ट हालै एनआरएनए कतारको अध्यक्षमा निर्वाचित भएका हुन्।
एसियाली खेलकुदको तयारीमा रहेका २२ खेलाडी र ५ अफिसियल गरी २७ थान झोला उपलब्ध गराइएको छ। सो झोलाको मूल्य कतारी रियाल २ हजार बराबरको हो।
कतारबाट प्राप्त सहयोग ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषदकी उपनिर्देशक प्रशिक्षक संगिना बैद्य, फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ तथा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मामार्फत् नेपाली टिमलाई उपलब्ध गराइएको थियो।
एसियाली खेलकुदको महिला फुटबलमा नेपाल समूह ‘डी’ मा परेको छ। यो समूहमा अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको फिफा विश्वकप खेलेका जापान र भियतनाम छन्।
यस्तै केही अघि मैत्रीपूर्ण खेल खेलेको बंगलादेश पनि नेपाल रहेको समूह ‘डी’ मा छ।
एसियाली खेलकुदको महिला फुटबलमा १७ टिमले भाग लिँदैछन्। जसमा तीन समूह तीन तीन टिमको र दुई समूह चार चार टिमको रहेका छन्। हाङझाव एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ।
नेपाली महिला फुटबल टिमलाई यसअघि पनि सहयोग उपलब्ध गराएका ज्याकी चेनले यसअघि उदयपुर जिल्ला ह्यान्डबल संघलाई २० स्थान बल सहयोग गरेका थिए।
यस्तै उनले फागुनमा नेपाली राष्ट्रिय महिला फुटबल टिमका एघार खेलाडीलाई फुटबल बुट सहयोगस्वरुप प्रदान गरेका थिए। उनले एडिडास ब्रान्डको करिब एक लाख रुपैयाँ बराबरको बुट प्रदान गरेका थिए।