नेपाल फुटबल खेलाडी संघ र बी एण्ड बी अस्पतालबीच स्वास्थ्य सम्बन्धित सेवा सुविधाका लागि सम्झौता भएको छ।
सम्झौताअन्तर्गत देशका सम्पूर्ण फुटबल खेलाडीहरूले (ए, बी र सी डिभिजन, महिला लिग, युवा राष्ट्रिय टोली तथा महिला र पुरुष राष्ट्रिय टोली) बी एण्ड बी अस्पताल मार्फत उपलब्ध हुने सम्पूर्ण उपचार सुविधाहरूमा विभिन्न किसिमका सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
सेवाहरूमा सम्पूर्ण उपचार सेवामा २०% छुट, अर्थोस्कोपी शल्यक्रियातर्फ उपलब्ध बि एन्ड बि को विशेष प्याकेज सिस्टममा थप २०% लागु हुने गरि नेपालमा रहेका अन्य अस्पतालको तुलनामा झन्डै ७०% को छुटको सुविधा हुनेछ।
यस्तै विपन्न वर्गका खेलाडीहरूको लागि वार्षिक सिमित कोटाको आधारमा निशुल्क उपचार (शल्यक्रिया सहित) र खेलाडीहरूको परिवारको निम्ति सम्पूर्ण उपचार सेवामा १५% छुटको पनि व्यवस्था गरिएको छ।
औषधिमा १२% छुट हुनेछ भने खेलाडीहरूको निम्ति स्वास्थ्य तथा खेल दुर्घटना सम्बन्धी शैक्षिक कार्यक्रम संचालनमा प्राविधिक सेवा प्रदान गरिने नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले बताए।