असोज ४ देखि काठमाडौं हुने साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले असोज ४ देखि १३ सम्म दशरथ रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।
प्रतियोगिताको लागि साधारण प्यारापिटतर्फको टिकट मूल्य सय रुपैयाँ र भिआइपितर्फको टिकट मूल्य तीन सय रुपैयाँ तोकिएको छ।
टिकट खल्ती तथा भौतिक रुपमा दशरथ रंगशालामा किन्न पाइनेछ। प्रतियोगिताका सबै खेल स्पोर्ट्सवर्कको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।
प्रतियोगिताको बजेट २ करोड ७७ लाख रुपैयाँ रहेको छ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र पाकिस्तान छन् भने अर्को समूहमा भारत, भुटान र बंगलादेश छन्। पहिलो खेलमा नेपाल र पाकिस्तान पर्सी भिड्नेछन्।
प्रतियोगिताको सुरुवाती दुई संस्करण नेपालले जितेको थियो। गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा भने घरेलु टिम च्याम्पियन बनेको थियो।