उदयपुरको वेलका नगरपालिकामा आयोजित प्रथम आमन्त्रित वेलका मिनि गोल्ड कपको उपाधि गाईघाट युनाइटेडले जितेको छ।
आइतबार लालबजार खेल मैदानमा भएको फाइनलमा कोशी प्रदेश प्रहरी टिमलाई १-० गोल अन्तरले पराजित गर्दै गाईघाट युनाइटेडले उपाधि जितेको हो। गाईघाटका लागि दोस्रो हाफको ५६ औं मिनेटमा कमल खवासले निर्णायक गोल गरेका हुन्।
उपाधि जितेसँगै गाईघाट युनाइटेडले नगद ५० हजार र ट्रफी हात पारेको छ। उपविजेता कोशी प्रदेश प्रहरी टिमले भने नगद ३० हजार र ट्रफी प्राप्त गरेको छ।
प्रतियोगिताको म्यान अफ डी टुर्नामेन्टमा गाईघाट युनाइटेडका शिशिर लेखी घोषित भए। उनले पुरस्कारस्वरूप नगद ५ हजार प्राप्त गरे।
यसैगरी उत्कृष्ट गोलरक्षकमा र डिभेन्डरमा गाईघाट युनाइटेडकै रेम्बो चौधरी र प्रविन श्रेष्ठ घोषित भए। उनीहरूले समान नगद ३ हजार पाए।
उत्कृष्ट मिडफिल्डरमा भने कोशी प्रदेश प्रहरी टिमका दिलबहादुर तामाङ र राइजिङ प्लेयरमा आयोजक वेलकाका प्रविन तामाङ घोषित भए। उनीहरूले पनि नगद ३ हजार र प्रमाण पत्र हात पारे।