नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करणको उपाधि नेपाल राष्ट्र बैंक र प्रभु बैंकले जितेका छन्।
प्रतियोगिताको महिला तर्फको फाईनल खेलमा नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई ४–० गोल अन्तरले विजेता बन्न सफल भयो। त्यसैगरी पुरुष समूह तर्फ प्रभु बैंक लिमिटेडले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई १–० गोल अन्तरले प्रतियोगिताको विजेता बनेको थियो।
प्रतियोगितामा महिला समूहतर्फ नेपाल राष्ट्र बैंककी विनिता पराजुली र सकुन्तला सापकोटा तथा पोखरा फाईनान्सकी यमुना गुरुङले क्रमशः उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधि जित्न सफल भएका थिए।
प्रतियोगिताको पूरुषतर्फ प्रभु बैंकका रोहन खड्काले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सुजन के.सि.ले उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भएका थिए।
फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३२ समूह र महिला तर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहेको थियो। पोखराको गणेश टोल स्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा आयोजित उक्त प्रतियोगिता असोज २६ र २७ गते गरि २ दिनसम्म चलेको थियो।