फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाले जित निकालेको छ।
बुधबार विहान सकिएको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोलले हरायो। अर्जेन्टिनाका लागि दुवै गोल लिओनल मेसीले गरे। उनले खेलको ३२ र ४२ मिनेटमा गोल गरेका थिए।
यससँगै उनी विश्वकपको दक्षिण अमेरिका छनोटमा सर्वाधिक गोलकर्ता (३१ गोल) भए। उनले उरुग्वेका लुइस सुआरेज (२९ गोल) लाई पछि पारे।
यता ब्राजिल भने पराजित भएको छ। ब्राजिललाई उरुग्वेले २-० गोलले हरायो। खेलमा ब्राजिलका फरवार्ड नेइमार पहिलो हाफमा घाइते हुँदै मैदान छाड्न बाध्य भए। उनको घुँडामा चोट लागेको थियो।
यो सिजन साउदी क्लबमा आबद्ध भएका नेइमारको चोट गम्भीर नभएको विश्वास ब्राजिलका कप्तान कासिमेरोले गरेका छन्।
उरुग्वेका लागि नुनेजले ४२ र डेला क्रुजले ७२ मिनेटमा गोल गरे। ब्राजिलमाथि उरुग्वेले २००१ पछि जित हात पारेको हो।
छनोटका अन्य खेलमा भेनेजुएलाले चिलीलाई ३-० र पाराग्वेले बोलिभियालाई १-० गोलले हराएका छन्। इक्वेइडर र कोलम्बियाले गोलरहित बराबरी खेले।
अंक तालिकामा अर्जेन्टिना १२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको उरुग्वे, तेस्रो स्थानको ब्राजिल र चौथो स्थानको भेनेजुएलाको ७-७ अंक छ।