धनगढी एफसीले दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि कैलालीका प्रतिभावान युवा मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्धित गरेको छ।
‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले प्लानिङ ब्वाइजलाई यस वर्ष सी डिभिजनबाट बी डिभिजनमा उकाल्न महत्वपूर्ण भूमिका खेलेका प्रतिभावान मिडफिल्डर ओमप्रकाशसँग यस सिजनका भित्र्याएको हो।
सुदूरपश्चिम ११ स्पोर्टस क्लबबाट देशका विभिन्न भागमा हुने गोल्डकपहरु समेत खेलेका ओमप्रकाश रधनगढी एफसीका अध्यक्ष सुवाश शाहीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।
सम्झौता पत्रमा हस्ताक्षर पश्चात ओमप्रकाशले स्थानीय खेलाडीका रुपमा होम टाउनको टोलीसँग अनुबन्ध हुन पाउँदा खुशी व्यक्त गरे।
‘धनगढी एफसीमा सम्झौता गर्न पाउँदा एकदमै खुशी छु। पहिलो सिजनको उपविजेता टोलीमा सम्झौता गर्न पाउँदा निकै हर्षित छु। यसपटक टोलीमा पाएको मौकाहरुको पूर्ण सदुपयोग गर्दै टोलीलाई एकस्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु। अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने।
यस्तै धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले मिडफिल्डर ओमप्रकाशलाई स्वागत गर्दै उनको आगमनले टोली थप मजबुद बन्ने प्रतिक्रिया व्यक्त गरे।
‘धनगढी एफसीमा यस सिजन युवा प्रतिभावान मिडफिल्डर ओमप्रकाश चौधरीलाई सम्झौता गर्दा हामी एकदमै उत्साहित छौं। ठूला प्रतियोगिताहरुमा युवाहरुले एक्सोजर पाउनु आवश्यक ठान्दै र उहाँको प्रतिभाको कदर गर्दै हामीले उहाँलाई भित्र्याएका हौं,’ शाहीले भने।
धनगढी एफसीले यसअघि यूरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक फलू डियाग्ने र नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ।
नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ।
एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन्। आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेल्दै टोलीलाई लिगको विजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ।
प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ। धनगढी एफसीको ब्रान्ड एम्बास्डरमा कलाकार तथा चर्चित टिकटकर पवी साँकी रहेकी छिन्। धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगञ्ज यूनाइटेडसँग खेल्ने तालिका छ।