अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा अध्यक्ष पंकजबिक्रम नेम्बाङविरूद्ध बर्खास्ती गर्न परेको निवेदनमा मतदान सम्पन्न भएको छ।
हेटौडामा बिहीबार सुरु भएको मतदानअघि दुई पक्षबीच तनाव भएको थियो। अध्यक्ष नेम्बाङले बोलेपछि पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले बोल्न लाग्दा होहाल्ला भएको थियो। त्यसपछि उद्घाटन नै नभइ कडा सुरक्षाका साथ अध्यक्षको बर्खास्तीको निवेदनमा मतदान भएको एक केन्द्रीय सदस्यले बताए।
यसअघि गत भदौ २५ मा एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धरासयी बनाउन उद्दत रहेको र उनीहरू पदमा रहे नेपाली फुटबलको भविष्यमा नै क्षति पुग्ने भन्दै बर्खास्त गर्न माग गर्दै पत्र दर्ता गरिएको थियो। तर एन्फा केन्द्रीय समितिले अध्यक्षको विषयमा मात्र साधारणसभा एजेन्डा लाने निर्णय गरेको थियो।
अध्यक्ष र महासचिवमाथि १९ आरोपसमेत लगाइएको थियो। जसमा विशेष साधारण सभा भर्चुअलमार्फत् गर्न आह्वान गरेको, बजेट पास नगरी अनाधिकृत रूपमा बिनाआवश्यक अख्तियारी आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेको लगायतका छन्।
गत वर्षको असारमा अध्यक्षमा निर्वाचित भएदेखि नै नेम्वाङ अल्पमतमा परेका थिए। पूर्वअध्यक्षद्वय कर्माछिरिङ शेर्पा र गणेश थापा पक्षका सदस्यको बहुमत हुँदा अध्यक्ष नेम्वाङले कार्य समितिबाट विभिन्न निर्णय गराउन सकस पर्ने गरेको छ।
बिहीबार हेटौंडामा हुने साधारणसभामा एन्फाका ८७ सदस्यलाई मताधिकार हुनेछ। जसमध्ये दुई तिहाइले मात्र अध्यक्षसहित अरु सदस्यलाई बर्खास्त गर्न सक्छन्।