अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङविरूद्धको अविश्वासको प्रस्ताव असफल भएको छ। अविश्वासको प्रस्ताव गर्ने पक्षले नै भोटिङ बहिष्कार गर्दा नेम्बाङविरुद्धको प्रस्ताव असफल भएको हो।
आज हेटौडामा भएको एन्फाको विशेष सधारणसभामा नेम्बाङविरूद्धको अविश्वासको प्रस्तावमा मतदान भएको थियो। जसमा एन्फाका ८७ मताधिकार पाएका मध्ये ५३ मात्र भोट खसेको थियो। जसमा नेम्बाङको पक्षमा ५२ भोट खसेको थियो। १ भोट बदर भएको थियो।
मतदानअघि दुई पक्षबीच तनाव उत्पन्न भएको थियो। अध्यक्ष पंकजबिक्रम नेम्बाङले बोलेपछि पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले बोल्न खोजेका थिए। तर त्यसपछि होहाल्ला हुँदा उद्घाटन नै नभइ मतदान सुरु भएको थियो।
आफूहरुलाई बोल्न नदिएको र विधान मिचेको आरोप लगाउँदै शेर्पा पक्षले मतदान बहिष्कार गरेका थिए। ३४ मताधिकार व्यक्ति साधारणसभाका लागि उपस्थित भए पनि भोटिङमा अनुपस्थित भएका थिए।
‘पहिलो कुरा अध्क्षज्यूले मात्र बोल्नु भयो प्रस्ताव ल्याउने हामीलाई बोल्न दिनु भएन। दोस्रो नम्बरमा महासचिवको बर्खास्तीको प्रस्ताव हटाइयो। तेस्रो कुरा कार्यसमितिको बैठक हुँदा विधानको धारा २३ को ९ उल्लेख भएअनुसार, जसउपर उजुरी परेको छ, उ कार्यसमितिको बैठकबाट हटेर वरिष्ठले कार्यसमितिको बैठक सञ्चालन गर्नु पर्नेमा त्यो पनि गर्न भएन,’ शेर्पाले भने।
उनले विधि र विधानअनुसार चल्नका लागि जहिले पनि आवाज उठाउने काम गर्ने पनि बताए।
‘हामीले पहिलेदेखि नै विशेष साधारणसभाको वैधानिकता नै छैन भनेका थियौं। कार्यसमितिको बैठक राख्नु भयो, १० जना मात्र उपस्थित हुनुभयो। बुलेका ५ बजे एक जना सदस्य खोजेर ल्याएर ११ जना पुर्याएर साधारणसभा तोकियो। यस्तो निर्णय आपतकालिन बैठकले होइन नर्मल कार्यसमिति बैठक बोलाउनु पर्ने हो,’ शेर्पाको भनाइ छ।
यसअघि गत भदौ २५ मा एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धरासयी बनाउन उद्दत रहेको र उनीहरू पदमा रहे नेपाली फुटबलको भविष्यमा नै क्षति पुग्ने भन्दै बर्खास्त गर्न माग गर्दै पत्र दर्ता गरिएको थियो। तर एन्फा केन्द्रीय समितिले अध्यक्षको विषयमा मात्र साधारणसभा एजेन्डा लाने निर्णय गरेको थियो।
अध्यक्ष र महासचिवमाथि १९ आरोपसमेत लगाइएको थियो। जसमा विशेष साधारण सभा भर्चुअलमार्फत् गर्न आह्वान गरेको, बजेट पास नगरी अनाधिकृत रूपमा बिनाआवश्यक अख्तियारी आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेको लगायतका थिए।
गत वर्षको असारमा अध्यक्षमा निर्वाचित भएदेखि नै नेम्वाङ अल्पमतमा परेका थिए। पूर्वअध्यक्षद्वय कर्माछिरिङ शेर्पा र गणेश थापा पक्षका सदस्यको बहुमत हुँदा अध्यक्ष नेम्वाङले कार्य समितिबाट विभिन्न निर्णय गराउन सकस पर्ने गरेको छ।
बिहीबार हेटौंडामा भएको साधारणसभामा एन्फाका ८७ सदस्यलाई मताधिकार थियो। मताधिकार पाएका दुई तिहाइले मात्र अध्यक्षसहित अरु सदस्यलाई बर्खास्त गर्न सक्ने विधानमा उल्लेख छ।