दोलखा जिल्ला फुटबल संघले आयोजना गरेको बागमती क्लब स्तरीय प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगितामा एक्टीभ ब्वाइज क्लब खरीढुंगाले जितेको छ। प्रतियोगितामा लालिगुँरास युवा क्लब चरिकोट उपविजेता बनेको छ।
शनिबार भएको फाइनल खेलमा एक्टीभ ब्वाईज क्लब खरीढुंगाले लालिगुँरास युवा क्लब चरिकोटलाई २– १ को अन्तरले पराजित गरेको थियो।
विजेता टिमलाई दुई लाख ५० हजार नगद, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमलाई एक लाख २५ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डेले जानकारी दिए।
प्रतियोगितामा वेस्ट प्लेयर लालिगुँरास युवा क्लब चरिकोटका मोहन गुरुङ, वेस्ट गोलकिपर एक्टिभ ब्वाईज क्लब खरीढुंगाका नवीन सिलवाल, वेस्ट कोच एक्टिभ ब्वाईज क्लब खरीढुंगाकै मनोज श्रेष्ठ र सर्वाधिक गोलकर्ता सिन्धुपाल्चोक फुटबल संघका अजय तामाङ भएका छन्। वेस्ट प्लेयरलाई सात हजार पाँच सय नगद र मेडल तथा प्रमाणपत्र र अन्यलाई पाँच हजार नगद र मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ र नुवाकोटको ११ वटा टिमको सहभागिता रहेको थियो। दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डेको सभापतित्व र बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेको प्रमुख आतित्थामा सम्पन्न समापन कार्यक्रममा सांसद कुन्दनराज काफ्ले भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर लगायतले मन्तव्य व्यक्त गरे।