फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ।
बिहीबार राति दुबईमा भएको खेलमा नेपाललाई घरेलु टिम युएईले ४-० गोलले पराजित गर्यो।
युएईले पहिलो हाफमै चार गोल गरेको थियो। युएईका लागि खालिफा अल हमादीले ११ मिनेटमा पहिलो गोल गरेका थिए।
त्यसपछि अली माब्खोउटले दुई गोल गरे। अलीले ३६ मिनेटमा पेनाल्टीबाट र ४४ मिनेटमा गोल गरेका थिए। पहिलो हाफको इन्जुरी टाइममा फाबियो लिमाले युएईका लागि चौथो गोल गरेका थिए।
दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्।
फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।
दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ।
जस अनुसार पाँच दिनपछि नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ।
नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ।
पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो।
चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।