फ्रान्सले जिब्राल्टरमाथि कीर्तिमानी १४ गोल गरेको छ।
युरो छनोट अन्तर्गत आज भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० गोलले पराजित गरेको हो।
फ्रान्सको अलिनेज रिभेरा स्टेडियममा तेस्रो मिनेटमा फ्रान्सले अग्रता लिएको थियो।
जिब्राल्टरका इथान सान्तोषले आत्मघाती गोल गर्दा फ्रान्स तेस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो। जिब्राल्टरविरूद्धको खेलमा केलियन एम्बाप्पेले ह्याट्रिक गरे।
लगत्तै चौथो मिनेटमा मार्कस थुरामले गोल गर्दै अग्रता दोब्बर बनाए। १६औं मिनेटमा वारेन जइर इमरीले गोल थपे। १८ औं मिनेटमा इथान सान्तोष रातो कार्ड खाँदै बाहिरिएपछि जिब्राल्टर १० खेलाडीमा समेटिएको थियो।
त्यसपछि ३० औं मिनेटमा केलियन एमबाप्पे, ३६ औं मिनेटमा किंग्सली कोमन, ३७ औं मिनेटमा युसुफ फोफनले गोल गर्दै फ्रान्सले हाफअघि ७-० को अवस्थामा पुर्याए।
दोस्रो हाफको ६३ औं मिनेटदेखि फ्रान्सले जिब्राल्टरमाथि गोल वर्षा सुरू गर्यो। ६३ औं मिनेटमा एड्रियन राबिओट, ६५ औं मिनेटमा किंग्सली कोमन, ७३ औं मिनेटमा उसमाने डेम्बेले, ७४ औं र ८२ औं मिनेटमा र ओलिभर जिराउडले ८९ औं र इन्ज्युरी समयमा गोल गर्दा फ्रान्सको खातामा १४ गोल जोडिएको हो।
युरोकप छनोटको समूह ‘बी’मा रहेको फ्रान्स ७ खेलमा ७ जित निकाल्दै २१ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्स ७ खेलमध्ये ५ खेल जितेर १५ अंकसहित दोस्रो स्थानमा छ।
ग्रीस, आयरल्याण्ड र जिब्राल्टर क्रमशः तेस्रो, चौथो र पाचौं स्थानमा छ। फ्रान्स र नेदरल्याण्ड युरोकपमा छनोट भइसकेका छन्।