फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा समूह ‘एच’ को दोस्रो खेलमा अहिले नेपालले यमनसँग प्रतिस्पर्धा गरिरहेको छ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
खेलको २१ मिनेटमा नेपालका अन्जन विष्टले डिबक्स भित्रबाट गोल गर्ने अवसर पाएका थिए। तर उनको हेडरले गोलपोस्टको दिशा लिन सकेन।
३२ मिनेटमा नेपालका गोलकिपर तथा कप्तान किरण लिम्बूले यमनका खेलाडीको प्रहारको उत्कृष्ट बचाउ गरेका थिए। यमनका अहमद खलिदले डिबक्सबाट हानेको सशक्त प्रहारलाई किरणले पञ्च गरेर मैदान बाहिर पठाएका थिए।
नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो। यमन पनि बहराइनसँग २-० ले पराजित भएको थियो।
फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ। दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ।
चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।
पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।