दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको शुक्रबारदेखि सुरू हुँदैछ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाकारी दिएको छ।
दशरथ रंगशालामा शुक्रबार हुने उद्घाटन समारोहमा सुशान्त केसी, ट्वीनी गर्ल्स र वाङ्देन शेर्पाले मनोरञ्जनात्मक प्रस्तुति दिने आयोजकको भनाइ छ।
प्रतियोगिताको सबै खेल दशरथ रंगशालामा हुनेछन्। रंगशालाका प्रवेशका लागि दुई सय र चार सय रुपैयाँ टिकट मूल्य तोकिएको छ।
प्रतियोगितामा ९ टिमले भाग लिँदैछन् भने टिममा पाँच विदेशी खेलाडी राख्न पाइने निमय छन्। यस्तै कतिपय टिमले विदेशी प्रशिक्षक समेत भित्र्याएका छन्।
एनएसएलका निर्देशक श्रेयांस कार्कीका अनुसार दर्शकको मनोरञ्जनका लागि डीजे र चियर लिडरलाई पनि एनएसएलमा समावेश गराइनेछ। यस्तै कार्कीले इंग्लिस क्लब चेल्सीका लेजेन्ड फुटबलर डिडियर ड्रोग्बा आउने पक्का भएको बताउँदै मिति छिटै सार्वजनिक गरिने बताए।
विवादका कारण दुई वर्षदेखि हुन नसकेको प्रतियोगिताका लागि यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुमति दिएको थियो।
एनएसएलमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी हुनेछन्। सबै टिमले लिग चरणमा एकआपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन्।
ए डिभिजन क्लबसँगको विवादका कारण एनएसएल खेलाडीको अक्सन भइसकेको अवस्थामा पटक पटक स्थगित भएको थियो।
२०७७ सालमा भएको सिजनमा काठमाडौं रेजर्स च्याम्पियन भएको थियो।