अखिल नेपाल फुटबल संघ (एन्फा) मा आन्तरिक विवाद बढ्दै जादा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने क्रम जारी छ।
शुक्रबार अख्तियारमा दर्ता भएको उजुरी गत मंगलबार नेपाल र यमनबीच दशरथ रंगशालामा भएको खेलमा बिक्रि गरिएको टिकट सम्बन्धित छ।
‘भष्ट्राचाररहित परिवर्तन चाहने आम फुटबल प्रेमीहरू’ को नाममा दर्ता गराइएको उजुरीमा विश्वकप छनोट अन्तर्गत नेपाल र यमनबीचको खेलमा १३ हजार ७ सय दर्शक उपस्थित रहेकाले ६२ लाख रुपैयाँ उठ्नु पर्नेमा एन्फाले ३७ रुपैयाँ लाख मात्र हिसाब देखाएर भष्ट्राचार गरेको दाबी गरिएको छ।
उजुरीमा टिकटको क्याटागोरीको छपाइ संख्या र पास वितरणको मापदण्डमा पनि प्रश्न गरिएको छ भने एउटै नम्बरमा दुई-दुई प्याड छापिएको दाबी गरिएको छ।
यसअघि कात्तिक तेस्रो साता पनि एन्फाविरूद्ध अख्तियारमा उजुरी परेको थियो।
एक खेलाडीको नाममा दर्ता भएको उजुरीमा (एन्फा) मा आर्थिक अनियमितता र भ्रष्टाचार भएको आरोप लगाइएको थियो। उजुरीमा एन्फामा पदको दुरुपयोग गरि आर्थिक अनियमितता र भष्ट्राचार भएको भन्दै ११ आरोप लगाइएको भने अनुसन्धान गरेर कानुनी दायरामा ल्याउन आग्रह गरिएको थियो।