इंग्लिस प्रिमियर लिगमा शीर्ष टिमद्वय म्यानचेस्टर सिटी र लिभरपुलबीच शनिबार भएको खेल एक-एक गोलको बराबरीमा सकिएको छ।
सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले अन्तिम दश मिनेट बाँकी छदा बराबरी गोल फर्काएको थियो।
सिटीका लागि हाल्यान्डले खेलको २७ मिनेटमा पहिलो गोल गर्न सफल भए। उनले लिभरपुलका गोलकिपरले गरेको गल्तीको फाइदामा गोल गर्न सफल भएका थिए।
गोलसँगै हाल्यान्डले प्रिमियर लिगमा सर्वाधिक छिटो ५० गोलको कीर्तिमान समेत बनाउन सफल भए। उनले ४८ खेलमा ५० गोल गर्ने कीर्तिमान बनाएका हुन्।
यसअघि यो कीर्तिमान एन्ड्रियु कोलको नाममा थियो। उनले ६५ खेलमा ५० गोल पूरा गरेका थिए।
हाल्यान्डले कीर्तिमानी गोल गरे पनि सिटीले जित निकाल्न भने सकेन। लिभरपुलका अलेक्जेन्डर अर्नोल्डले ८० मिनेटमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
बराबरीपछि सिटी लिगमा १३ खेलबाट २९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको लिभरपुलको २८ अंक छ। एक खेल कम खेलेको आर्सनल २७ अंक जोडेर तेस्रो स्थानमा छ। आज राति ब्रेन्डफोर्डलाई हराउन सके आर्सनल शीर्ष स्थानमा पुग्नेछ।