नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत साविक बिजेता काठमाडौं रेजर्स र चितवन एफसीबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले एक-एक गोलको बराबरी खेल्दै अङ्क बाडेका छन्।
खेलमा पहिलो अग्रता भने चितवनले लियो । चितवनले खेलको ८६ औँ मिनेटमा गोल पहिलो अग्रता लियो । चितवनका लागि विमल घर्ती मगरले गोल गरे । तर चितवनको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा काठमाडौँले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए। काठमाडौँका जुनियर एकेनगुएले एक गोल फर्काएर खेललाई बराबरीमा ल्याएका हुन्।
यससँगै काठमाडौँले प्रतियोगितामा दुई खेलबाट ४ अङ्क जोडेको छ ।
चितवनले भने १ अङ्क जोडेको छ। काठमाडौँले पहिलो खेलमा इलामलाई पराजित गर्दै विजयी भएको थियो । यता चितवन भने पोखरासँग पराजित भएको छ ।