इंग्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ।
आइतबार कुल ७ गोल भएको खेलमा फुलहमविरुद्ध लिभरपुल ४-३ गोलले विजयी भयो।
खेलको ८७ मिनेटसम्म लिभरपुल ३-२ गोलले पछि परेको थियो। तर ८७ मिनेटमा लिभरपुलका इन्डोले गोल गर्दा खेल ३-३ गोलको बराबरीमा आएको थियो। एक मिनेटपछि अलेक्जेन्डर अर्नोल्डले अर्को गोल गर्दा लिभरपुल ४-३ गोलले अघि बढेको थियो।
त्यसअघि खेलको पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको थियो। फुलहमका लेनोले २० मिनेटमा आत्मघाती गोल गर्द लिभरपुलले अग्रता लिए पनि फुलहमका विलसनले चार मिनेटपछि बराबरी गोल गरे।
३८ मिनेटमा लिभरपुलका एलिस्टरले गोल गर्दै फेरि अग्रता दिलाए पनि फुलहमका टेटेले इन्जुरी टाइममा गोल गर्दा पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो।
८० मिनेटमा कोर्डाभाले गोल गर्दा फुलहम ३-२ ले अघि रहेको थियो। तर अन्तिम तीन मिनेट बाँकी रहदा लिभरपुलले खेल उल्टायो।
जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको १४ खेलबाट ३१ अंक छ भने शीर्ष स्थानको आर्सनलको ३३ अंक छ। एक खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटीको २९ अंक छ। सिटीले टोटेनहमसँग खेल्दैछ।