राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोकेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै एकएक अङ्क बाँडेका छन् ।
यस खेलसँगै ललितपुरले जारी प्रतियोगितामा ६ अङ्क जोडेको छ । पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २–० ले हराएको ललितपुरले दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा थन्डर्स र धनगढीसँग गोलरहित बराबरी खेलेको थियो ।
त्यसैगरी पहिलो खेलमा साविक उपविजेता धनगढी एफसीविरुद्ध २–१ गोलअन्तरले पराजित भएको वीरगञ्ज दोस्रो खेलमा पनि समान नतिजामा एफसी चितवनसँग पराजित भएको थियो । यस खेलसँगै वीरगञ्जले एक अङ्क जोेडेको छ । खेलमा पहिलो अग्रता भने वीरगञ्जले लियो ।
वीरगञ्जका लागि खेलको १०औँ मिनेटमा विलियम ओपोकुले गोल गरे । वीरगञ्जको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको १४औँ मिनेटमा नै ललितपुरका इमोन इकेजेले एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको २७ औँ मिनेटमा ललितपुरका निखिल सुरेशराओ कदमले गोल गर्दै खेलको पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाए ।
तर खेलको दोस्रो हाफको सुरुआतमै वीरगञ्जले बराबरी गोल फर्कायो । वीरगञ्जका लागि दोस्रो गोल कृपाकान्त महतो थारुले खेलको ५२ औँ मिनेटमा गरे ।