सिजन २०२३-२४ को भारतीय महिला फुटबल लिग आजदेखि सुरू हुँदैछ। साढे तीन महिना चल्ने भारतीय लिगमा यसपटक सात टिमले भाग लिँदैछन्।
सात मध्ये तीन टिममा नेपालका राष्ट्रिय खेलाडी पनि आबद्ध भएर खेल्दैछन्। आगामी मार्च २४ सम्म हुने लिग खेल्नका लगि नेपालका छ राष्ट्रिय खेलाडी आबद्ध भएका हुन्।
राष्ट्रिय फुटबल टिमको कप्तानसमेत रहेकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता राना सेथु एफसीमा आबद्ध हुँदै सुरुमा भारत पुगेका थिए। दुवैले टिमसँगको अभ्यास शत्र सुरु गरिसकेका छन्। लिगमा आज सेथुले साविक विजेता गोकुलम केरलासँग खेल्दैछन्।
गीता र एन्जिलासँगै नेपाली राष्ट्रिय टिमका प्रिति राई, दीपा शाही, अमृता जैशी र रश्मीकुमारी घिसिङले पनि यस सिजनको भारतीय लिग खेल्दैछन्।
प्रिति र दीपाले किकस्टार्सबाट खेल्दैछन् भने अमृता र रश्मी स्पोर्ट्स उडिसामा आबद्ध भएका छन्।
गत सिजन पनि एन्जिलाले सेथुबाटै खेलेकी थिइन्। गीता पनि सोही क्लबमा आबद्ध भए पनि चोटका कारण खेल्न पाएकी थिइनन्। यसैले यो सिजन गीताले भारतीय लिगमा डेब्यू गर्नेछिन्।
प्रिति, दीपा, अमृता र रश्मीले पहिलो पटक भारतीय महिला लिग खेल्ने अवसर पाएका हुन्।
गत सिजनको भारतीय लिगमा नेपालका सात महिला खेलाडी भारतीय लिगमा आबद्ध भएका थिए।
राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीले गत सिजन गोकुलम केरलाबाट खेलेर लिग जितेकी थिइन्। उनले गत सिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै २९ गोल गरेका थिइन्। यो सिजन उनी इजरायलको क्लबमा आबद्ध भएका कारण भारतीय लिगमा खेल्नेछैनन्।
गत सिजन सावित्रा, एन्जिला र गीतासँगै सरु लिम्बू, रेखा पौडेल, रेनुका नगरकोटी र अनिता बस्नेतले पनि भारतीय लिग खेलेका थिए।