इंग्लिस प्रिमियर लिगको शीर्ष टिमको भिडन्तमा एस्टन भिल्लाले आर्सनललाई पराजित गरेको छ। भिल्लाले आर्सनललाई घरेलु मैदानमा १-० गोलले हरायो।
भिल्लाको जितमा म्याकगिनले सातौं मिनेटमा गोल गरेका थिए।
यता लिभरपुलले क्रिस्टल प्यालेसलाई २-१ गोलले हराएको छ। लिभरपुलका लागि एलिअटले दोस्रो हाफको इन्जुरी टाइममा गरेको गोल निर्णायक बन्यो।
त्यसअघि खेलको ५७ मिनेटमा माटेटाले गोल गरेर प्यालेसलाई अग्रता दिलाए। तर लिभरपुलका सलाहले ७६ मिनेटमा बराबरी गोल गरे।
म्यानचेस्टर युनाइटेड भने वर्नमाउथसँग ३-० गोलले पराजित भएको छ।
लिगको अंक तालिकामा लिभरपुल १६ खेलबाट ३७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा झरेको आर्सनलको ३६ अंक छ भने तेस्रो स्थानको भिल्लाको ३५ अंक भएको छ। चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीले एक खेल कम खेल्दै ३० अंक जोडेको छ भने पाँचौ स्थानको टोटेनहमको २७ र छैटौं स्थानको युनाइटेडको पनि २७ अंक नै छ।