इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर इर्लिङ हालान्डले क्लबका लागि थप एक खेल गुमाउने भएका छन्।
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार हुने रेड स्टार बेलग्रेडविरूद्धको खेल हाल्यान्डले नखेल्ने भएका हुन्।
प्रशिक्षक पेप ग्वार्डिओलाका अनुसार हालान्ड बिहीबार भने प्रशिक्षणमा फर्कनेछन्।
२३ वर्षीय नर्बेजियन स्ट्राइकर हालान्डले खुट्टामा समस्याका कारण आइतबार लुटनविरुद्धको प्रिमियर लिगको खेल पनि गुमाएका थिए।
ग्वार्डिओलाले बिहीबार हालान्ड मैदान फर्किएपछि उनको फिटनेसबारे थप भन्न सकिने समेत बताए।
च्याम्पियन्स लिगको समूह ‘जी’ का सुरुवाती पाँच खेल जितेर सिटी अन्तिम १६ मा पुगिसकेको छ। यो सिजनको च्याम्पियन्स लिगमा हालान्डले क्लबका लागि ५ गोल गरेका थिए।
सिटी अन्तिम १६ मा पुगेको अवस्थामा हाल्यान्डलाई फिट भए पनि आराम दिइएको अनुमान गरिएको छ। किनकी सिटीले अर्को साता क्लब विश्वकपका लागि साउदी अरेबिया जानुअघि हालान्डलाई फिट अवस्थामा चाहान्छ।
यता गोलकिपर एडरसनले पनि बेलग्रेडसँगको खेल नखेल्ने भएका छन्, जसका कारण स्टेफन ओर्टेगाले मौका पाउदैछन्।
सिटीका विंकर जेरेमी डोकु पनि खेल्नेछैनन्। उनलाई मांसपेशीमा समस्या छ। यस्तै सिटीका स्टार फिडफिल्डर केभिन डे ब्रुइन चोटका कारण लामो सयमदेखि मैदानमा उत्रिएका छैनन्।