अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस २ गते बस्ने भएको छ।
बैठकमा १५ एजेन्डामा छलफल हुँदैछ। जसमा आर्थिक वर्ष २०७९/८० को अडिटर सिफारिस, संघको विशेष सधारणसभा र निममित साधराण सभाको विषयमा छलफल गर्ने एजेन्डा रहेका छन्।
यसैगरी कोशी प्रदेशका १० जिल्ला, गण्डकी प्रदेशका ६ जिल्ला तथा बी र सी डिभिजन क्लबको मताधिकारको विषयमा पनि बैठकमा छलफल हुनेछ।
बैठकमा राष्ट्रिय लिगमा छनोट भएका चार क्लब, सामग्री खरिदका लागि बोलपत्र, फिफा विश्वकप छनोटको आयोजनाको विषयमा पनि छलफल हुनेछन्।
बी र सी डिभिजन लिग, जिल्ला लिग र महिला लिगसहितका प्रतियोगिता, उमेर समूहका प्रतियोगिता, साफ च्याम्पियनसिप, साफ क्लब च्याम्पियनसिपको विषयमा पनि छलफल हुनेछ।
संघको विभिन्न समिति गठन र पुर्नगठन गर्ने एजेन्डा पनि समावेश छ। यस्तै संघको कर्मचारी थप/घट र व्यवस्थापन, संघको पदाधिकारी नियुक्ति तथा जिम्मेवारी परिवर्तन पनि बठैकमा छलफल गर्ने एजेन्डा छन्। यस्तै अनुशासनको विषयमा पनि एन्फाले छलफल गर्नेछ।
विविधसहित १५ एजेन्डामा एन्फाले छलफल गर्ने पत्र पठाउँदा केन्द्रीय सदस्य अनिल मल्लले थप चार एजेन्डामा छलफल गर्न माग गर्दै पत्र पठाएका छन्।
उनले आर्थिक समिति गठन, स्थायी समितिको नियमावली निर्माण, एन्फा सचिवालयबाट लागू भएका अवैधानिक विषयमा छलफल गर्ने एजेन्डा थप्न माग गरेका छन्। साथै एन्फा कार्यसञ्चालन नियमावली, आर्थिक नियमावाली, आन्तरिक संगठन नियमावली, प्रतियोगिता नियमावली र कर्मचारी सेवा शर्त नियमावली पुन:अवलोकन गरि परिमार्जन गर्ने विषयलाई एजेन्डामा समावेश गर्न माग गरेका छन्।
साथै उनले बैठकमा वर्तमान कार्यसमितिले जिम्मेवारी प्राप्त गरेको बेलादेखिको स्टोरको इन/आउटको विवरण, ६ महिनाको आन्तरिक लेखा परीक्षण, एन्फाको टेक्निकल सेन्टरको वर्तमान आर्थिक र व्यवस्थापकीय अवस्था, पछिल्लो ३ वर्षको अडिट रिपोर्ट पनि कार्यसमिति बैठकमा पेश गर्न अनुरोध गरेका छन्। यस्तै उनले एन्फाले प्राप्त गर्नु पर्ने पेश्की र सामग्री फर्छ्यौटको पूर्ण विवरण पनि माग गरेका छन्।