सोमबार टर्कीको शीर्ष श्रेणीको लिग खेलमा रेफ्रीलाई मैदानमै मुक्का प्रहार गर्ने एक क्लबका अध्यक्षलाई स्थायी प्रतिबन्ध लगाइएको छ।
टर्कीस फुटबल महासंघले एमकेई अंकारागुकुका अध्यक्ष फारुक कोकामाथि स्थायी प्रतिबन्धको घोषणा गरेको हो।
साथै क्लबलाई ५४ हजार पाउन्ड जरिमाना तोकिएको छ भने क्लबले पाँच होम म्याच बिना दर्शन खेल्नु पर्नेछ।
यसअघि अध्यक्षले रेफ्रीलाई मैदानमा मुक्का हानेपछि सबै लिग खेल स्थगित भएका थिए।
रेफ्री हलिल उमुत मेलरमाथि एमकेई अंकारागुकुका अध्यक्ष फारुक कोकाले मुक्का प्रहार गरेका थिए।
आफ्नो टिम केकुर रिजेस्पोरसँग १-१ को बराबरीमा रोकिएपछि कोका रेफ्रीमाथि जाइलागेका थिए। अंकारागुकुले ९७ औं मिनेटमा बराबरी गोल खाएको थियो।
रेफ्री मेलर मैदानमा लडेपछि उनीमाथि क्लबका अरु पदाधिकारले थप प्रहार गरेका थिए।
३७ वर्षीय मेलर टर्कीका शीर्ष रेफ्री मध्येका एक हुन् र फिफाका लागि अन्तर्राष्ट्रिय खेल समेत सञ्चालन गर्छन्। उनी युइएफएको एलिट रेफ्रीको सूचीमा पनि छन्।