स्पेनिस ला लिगामा बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेल्दै अंक बाँडेका छन्। शनिबार राति भएको खेल एक एक गोलको बराबरीमा रोकिएको हो।
खेलको ५५ मिनेटमा जोआओ फेलिक्सको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। उनलाई गोल गर्न राफिन्हाले पास दिएका थिए।
७० मिनेटमा भ्यालेन्सियाका लागि गुइलामोले बराबरी गोल फर्काउँदै घरेलु मैदानमा उपस्थित दर्शकलाई खुसी दिए।
यता एट्लेटिको म्याड्रिडलाई एथ्लेटिक्स बिल्बाओले २-० गोल र गेटाफेले सेभियालाई ३-० गोलले पराजित गरेका छन्।
अंक तालिकामा बार्सिलोना ३५ अंकसहित तेस्रो स्थानमा छ। यता शनिबार पराजित भएसँगै एट्लेटिको म्याड्रिड ३४ अंकसहित चौथो स्थानमा झरेको छ।
शीर्ष स्थानको जिरोनाको ४१ अंक छ भने दोस्रो स्थानको रियल म्याड्रिडको ३९ अंक छ। दुवै टिमले बार्सिलोनाभन्दा एक खेल कम खेलेका छन्।