अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा लामाले केन्द्रीय समिति बैठक बहिष्कार गरेकी छिन्।
केन्द्रीय समितिमा महिला संघको प्रतिनिधि राख्न अध्यक्ष पंकजविक्रम नेम्बाङले अनुमति नदिएपछि उनले सोमबारको एन्फा केन्द्रीय समिति बैठक बहिष्कार गरेकी हुन्।
एन्फाको महिला समितिको अध्यक्ष समेत रहेकी लामाले आफू केन्द्रीय सदस्य भएकाले अर्को प्रतिनिधिलाई एन्फाको केन्द्रीय समिति बैठकमा सहभागी गराउन चाहेकी थिइन्। एन्फामा महिला समितसहित खेलाडी, प्रशिक्षक र रेफ्री समिति छन्। समितिका प्रतिनिधिले बैठकमा भाग लिने प्रावधान छ।
अरु समिति जस्तै महिला समितिले पनि प्रतिनिधि राख्न महासचिवसँग कुरा भए पनि अन्तिममा राख्न नदिएको भन्दै महिलाको अपमान भएको महसुस गरेर बैठक बहिष्कार गरेको लामाले बताएकी छिन्।
राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य समेत रहेकी लामा नेपालका लागि पहिलो अन्तराष्ट्रिय गोलकर्ता हुन्।
केन्द्रीय समिति बैठकमा १८ एजेन्डा छलफल हुने कार्यक्रम छ। मुख्यगरी सिइओमा इन्द्रमान तुलाधरलाई नियुक्त गर्ने विषय प्रमुख हुनेछ। एजेन्डामा कर्मचारी थपघट हुने एजेन्डा अन्तर्गत सिइओ नियुक्ति गर्ने तयारीमा एन्फा छ।