नेपाल सुपर लिग फुटबल प्रतियोगितामा स्पोर्टिङ इलाम एफसीसँग पराजित भएसँगै ललितपुर सिटी एफसीको अपराजित यात्रा सकिएको छ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा इलामले १-० गोलको जित हात पारेको हो।
इलामको जितमा फोडे कामाराले खेलको ५९ मिनेटमा गोल गरे। जितसँगै इलामले पुछारको स्थान छाडेको छ।
इलाम ८ खेलबाट ८ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ।
यता पराजित भएसँगै ललितपुरले शीर्ष स्थानमा उक्लने मौका गुमायो। ललितपुर १० अंकसहित तेस्रो स्थानमा छ। यसअघि ललितपुरले २ खेलमा जित निकाल्दा ४ खेल बराबरी खेलेको थियो।
अंक तालिकामा धनगढी एफसी १२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको पोखराको ११ अंक छ।