म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको अंक तालिकामा एक स्थान उक्लिएको छ।
गएराति एभरटनलाई पराजित गर्दै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको हो।
लिगमा १८ खेल खेलेको सिटीले ११ जित,३ हार र ४ बराबरी खेल्दै ३७ अंक जोडेको छ। १९ खेल खेलेको एस्टन भिल्ला ३९ अंकसहित तेस्रो स्थानमा छ। १९ औं खेलमा जित निकाले सिटी तालिकाको तेस्रो स्थानमा उक्लिने छ।
एभरटन विरूद्धको खेलको पहिलो हाफमा सिटी १-० गोलले पछि परेको थियो। २९ औं मिनेटमा ज्याक हरिसनले गोल गरी एभरटनलाई सुरूवाती अग्रता दिलाएका थिए।
सिटीले दोस्रो हाफमा तीन गोल गर्यो। ५३ औं मिनेटमा फिल फोडनले, ६४ औं मिनेटमा पेनाल्टीमार्फत जुलिएन एल्भारेजले र ८६ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दा सिटी ३-१ गोलले विजयी भएको हो।
पराजित भएको एभरटन १६ अंकसहित तालिकाको १७ औं स्थानमा छ।