अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुस २ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक गर्दै रंगशालाको टिकट बिक्रीबाट उठेको २० प्रतिशत रकम फुटबल खेलाडीलाई प्रदान गर्ने जनाएको थियो।
एन्फाले सार्वजनिक गरेको विज्ञप्तीको ६ नम्बर बुँदामा भनिएको थियो - विश्वकप छनोट लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्दा प्रतियोगिता तयारी समितिले गरेको निर्णय अनुमोदान गरियो। साथै भविष्यमा सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा नि:शूल्क पासहरू पूर्ण रुपमा बन्द गरी एन्फाले गेट टिकट बिक्री वितरणमार्फत् उठेको रकमको २० प्रतिशत रकममा प्रतियोगितामा सहभागी हुने उमेर समूह र राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका खेलाडीलाई प्रदान गर्ने।
यो निर्णय एन्फाको निर्णय पुस्तिकामा भने सामवेश छैन। सो दिनको अरु निर्णय पुस्तिकामा रहे पनि खेलाडीलाई दिने भनेको रकमको विषयमा केही उल्लेख छैन।
एन्फाका केन्द्रीय सदस्य अनिल मल्लले खेलाडीलाई २० प्रतिशत रकम दिने भनेर गरिएको निर्णय दबाइएको भन्दै विरोध गरेका छन्।
'खेलाडीको हितका लागि गरिएको निर्णय दबाइयो। बहुमतको कदर हामी अवश्य गर्छौ। हामीलाई पेलेर लाने विषय सहन सकिन्छ, सहेर बस्छौं। तर महिला र पुरुष राष्ट्रिय खेलाडीको हितका लागि एन्फा उपाध्यक्ष विराटजंग शाही लगायत हामी अल्पमतमा रहेका पदाधिकारीले उठान गरेर निर्णय नै भइसकेको एजेन्डालाई दबाइनु र मनोमानी एन्फा हाँक्ने सचिवालय प्रमुखलाई कारबाही गर्ने निकाय चाँहि को? भन्ने विषयको जवाफ नेतृत्वसँग माग्ने वा नमाग्ने? गेट टिकट कलेक्सनको २०% रकम राष्ट्रिय महिला र पुरुष खेलाडीलाई प्रदान गर्ने निर्णय दबाइएकोमा घोर आपत्ति छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।