अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत कार्यसमिति सदस्यले बी डिभिजन क्लब मध्यपुर युथ एसोसिएसनलाई कारबाही गर्ने निर्णयमा असहमति राखेका छन्।
एन्फाका ११ जना सदस्यले आइतबार असहमति जनाउँदै एन्फामा पत्र समेत दर्ता गराएका छन्।
यसअघि एन्फाको गत पुस २ गतेको बैठकले मध्यपुरलाई कारबाही गरेको थियो।
बैठकको निर्णय नम्बर १४ (ख) मा मध्यपुरलाई कारबाही गर्ने निर्णय उल्लेख थियो। ‘एन्फामा आबद्ध बी डिभिजन क्लब मध्ययुर युथ एसोसिएसनले संघको विधानको उल्लंघन हुने गरी संघको विरुद्धमा अनुशासनहिन कार्य गरेकाले थप अनुसन्धान र छानविन गर्न एन्फा अनुशासन समितिमा पठाउने तत सम्बन्धमा अदातलको निर्णय र अनुशासन समितिको निर्णय नआएसम्मका लागि संघद्वारा सञ्चालन हुने कुनै पनि फुटबल खेल गतिविधिमा सहभागिता नगराउने निर्णय गरियो,’ निर्णयमा भनिएको थियो।
यो निर्णयपछि ११ जन सदस्यले विधान विपरित निर्णय भएको भन्दै असमति जनाएका हुन्। विधानले एन्फा सदस्यले प्रतियोगितामा भाग लिन र एन्फा गतिविधिको अधिकार सुनिश्चित गरेको उनीहरुको दाबी छ। यस्तै उनीहरुले विधानले स्थापित गरेको कानुनी अधिकार खोस्ने अधिकार एन्फाको नभएको पनि जनाएका छन्।
असहमति जनाउनेमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी, सदस्यहरु रविन्द्र चन्द, रमेश व्यन्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल, पेमा डोल्मा लामा, मनिष जोशी र मनिराज विष्ट रहेका छन्।