फिफा विश्वकप २०२६ अन्तर्गत नेपालले एसियाको दोस्रो चरणको छनोटमा बिहीबार राति बहराइनसँग खेल्दैछ।
यो खेल नेपालमै हुने तालिका थियो। तर देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो। जसका कारण नेपालको होम म्याच समेत बहराइनमै हुने स्थिति आयो।
नेपालले बिहीबार पहिलो खेल खेलेपछि मंगलबार बहराइनमै दोस्रो खेल खेल्नेछ।
समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल पहिलो खेलमा युएईसँग ४-० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो।
विश्वकप छनोटमा नेपाली टिमले तयारी भने राम्रोसँग गर्न पाएको छैन।
अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक विवादका कारण फुटबल गतिविधिलाई गम्भीर असर गरिरहेको छ।
अध्यक्ष पंकजविक्रम नेम्बाङ अल्पमतमा परेका कारण उनलाई फुटबल विकासमा ध्यान दिने फुर्सद छैन। उनी एन्फाका कार्यसमितिमा आफ्नो समर्थन जुटाउनै व्यस्त छ। यस्तोमा कार्यसमितिका सदस्यहरु बलियो भएका छन्। आफूले भने जस्तो हुँदा समर्थन गर्ने र भाग नपाए विरोध गर्दा एन्फा राजनीति दूषित भएको छ।
त्यसैले एन्फा नेतृत्वले भागबण्डा मिलाउन नेपाली टिमसँगै उपाध्यक्षसहित १० जनालाई गत साता मलेसिया भ्रमण गरायो।
पदाधिकारीले विदेश भ्रमण गर्ने कुरा राम्रो भए पनि त्यो विकासित र खर्च धान्न सक्ने संघका लागि मात्र फलदायी हुने कतिपयको तर्क छ। नेपाल जस्तो देशका लागि भने त्यो भ्रमण केवल भागबण्डा मिलाउन गरिएको भ्रमण मात्र भएको उनीहरूको तर्क छ।
नेपाली पदाधिकारीले मलेसिया भ्रमण गरिरहदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री भए। उनले खेलकुद ऐनअनुसार संघका पदाधिकारीले विदेश भ्रमणका लागि स्वीकृति लिएको हो वा होइन भनेर सोधपुछ गरे। स्वीकृति नलिएको पुष्टि भएपछि मलेसिया गएका १० जनालाई कारबाही गर्न निर्देशन दिए। राष्ट्रिय खेलकुद परिषदले एन्फासँग स्पष्टीकरण सोधेको छ भने जवाफमा चित्त बुझाएको छैन।
एन्फासँग बहराइन भ्रमणमा जाने पदाधिकारीको सूची तयार थियो। मन्त्रीको निर्देशनसँगै हच्चिएको एन्फाले यसपटक भने भ्रमणमा जाने सूचीको स्वीकृतिका लागि परिषदलाई सिफारिस गर्यो।
तर परिषदले मिडिया अफिसर र डाक्टरबाहेक ९ जनाको नाम अस्वीकृत गर्यो। तर राष्ट्रिय खेलकुद परिषदको स्वीकृति बेगर ७ जना बुधबार विहान बहराइन पुगेका छन्।
एन्फाका केन्द्रीय सदस्यद्वय टीका लामा र मणिराज विष्टसँगै राजकाजी श्रेष्ठ (श्री भगवती क्लब), शेरबहादुर बस्नेत(झापा), रञ्जन कार्की (उदयपुर), महेशचन्द्र महत (जावलाखेल युथ क्लब) र जिल्ला सदस्य भरत बुढक्षेत्री बहराइनमा बुधबार विहान ल्यान्ड गरेको नेपाली टिमका एक अफिसियलले सेतोपाटीलाई बताए।
एन्फाको सिफारिसमा रहेका दुई जना भने बुधबार विहानसम्म बहराइन पुगेका छैनन्।
यसविषयमा युवा तथा खेलकुद मन्त्रालयले छानविन गर्न निर्देशन दिएको मन्त्रालय स्रोतको भनाइ छ।