मिर्मिरे भएदेखि तपाईंको मुखमा खाना त के, पानीको एक थोपा पनि परेको छैन। दिनभरि खाली पेटमै तपाईंले अभ्यासमा भाग लिनुपर्छ, घन्टौं मैदानको एक भागबाट अर्को भाग कुदिराख्नुपर्छ। तर यसका बारेमा न टिमका अन्य सदस्यलाई थाहा छ, न तपाईं उनीहरूलाई भन्न सक्नुहुन्छ।
साढे दुई दशकअघिसम्म एक महिना लामो रमादानका बेला युरोपका फुटबल लिगहरूमा खेल्ने प्राय: मुस्लिम खेलाडीहरूको भोगाइ यस्तै हुन्थ्यो।
इस्लामी पात्रोको नवौं महिना रमादान संसारभरिका झन्डै २ अर्ब मुस्लिमहरूका लागि सबैभन्दा पवित्र महिना मानिन्छ। यो महिनाभरि सबल र स्वस्थ मुस्लिमहरू हरेक दिन सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नखाई बस्छन् र धूमपान र संसर्गबाट समेत टाढा रहन्छन्।
साउदी अरेबियाजस्ता मुस्लिम राष्ट्रमा खेल्ने मुस्लिम खेलाडीहरूलाई त रमादानको व्रत बस्न कुनै समस्या हुँदैन।
द न्युयोर्क टाइम्सको सहप्रकाशन द एथलेटिकका अनुसार साउदी अरेबियामा यसै पनि दिउँसो धेरै गर्मी हुने हुनाले कुनै फुटबल म्याच खेलाइँदैन। रमादानभरि त झन् त्यहाँ फुटबल टिमहरूको अभ्यास राति मात्रै हुन्छ र म्याच पनि प्राय: स्थानीय समय अनुसार राति दस बजेपछि मात्रै खेलाइन्छ।
गत जुनमा स्पेनको रियल म्याड्रिडबाट साउदी क्लब अल इत्तिहाद गएका फ्रान्सका चर्चित खेलाडी करिम बेन्जिमाले आफ्नो धर्मका कारण पनि उक्त निर्णय लिएको बताएका थिए।
अधिकांश इसाई धर्मावलम्बी भएको युरोपमा भने लामो समयसम्म मुस्लिम खेलाडीहरूका लागि रमादानको समय सकसपूर्ण हुने गर्थ्यो।
सन् १९९७ को रमादानका बेला मोरक्कोली मिडफिल्डर युसेफ चिप्पोले व्यावसायिक खेलाडीका रूपमा पोर्तगाली क्लब एफसी पोर्टोबाट खेल्न थालेको केही महिना भएको थियो।
बिहान र दिउँसो गरी टिमका दिनमा दुई अभ्यास सत्र हुन्थे। सूर्योदयदेखि सूर्यास्तसम्म भोकै प्यासै रहनुपर्ने हुनाले चिप्पोका लागि ती अभ्यास सत्रहरूमा भाग लिन झनै कठिन हुन्थ्यो। तर उनी आफूलाई प्रमाणित गर्न लागिपरेका थिए र टिममा आफ्नो स्थान असुरक्षित हुने कुनै पनि जोखिम लिन चाहँदैनथे। त्यसकारण भोको पेटमा अभ्यास गर्दा रिँगटा लाग्ने र टाउको दुख्ने भए पनि कैयौं दिनसम्म उनले चुपचाप सबै सहिरहे।
असह्य भएपछि एक दिन उनले क्लबका प्रशिक्षक फर्नान्डो सान्तोसलाई आफ्नो व्रतका बारेमा बताए। उनको कुरा सुनेपछि सान्तोसले उनको कामको भार घटाउन मद्दत गरे र क्लबले पनि तुरून्त उनको स्वास्थ्यलाई ध्यानमा राखेर नयाँ तालिका बनायो।
तर त्यसपछि पनि दशकौंसम्म अरू मुस्लिम खेलाडीहरूले आफ्ना टिमहरू यस विषयमा उदारता देखाएको अनुभव गरेनन्।
सन् २००९ अगस्टमा भएको एक खेलमा इटालीको क्लब इन्टर मिलानका प्रशिक्षक जोसे मौरिन्होले आफ्ना खेलाडी सली मन्टारीलाई आधा घन्टामै निकाले। खेलपछि मौरिन्होले मन्टारीका रमादान सम्बन्धी केही समस्या थिए भन्ने प्रतिक्रिया दिएपछि उनको आलोचना भएको थियो।
फुटबलमा खेलाडी घाइते हुने, बल मैदान बाहिर जाने जस्ता विशेष परिस्थितिमा मात्रै खेल बीचमा रोकिन्छ। त्यसैगरी एउटा खेलमा सीमित खेलाडी मात्रै परिवर्तन गर्न पाइन्छ। त्यसैले मुस्लिम खेलाडीहरू रमादानमा व्रत तोड्ने विभिन्न चलाखीपूर्ण उपाय निकाल्थे। आफ्नो टिमका मुस्लिम साथीहरूलाई व्रत तोड्ने अवसर दिन कुनै खेलाडी घाइते भएको नाटक गर्थ्यो, कुनै टिमको स्टाफका सदस्यले मुस्लिम खेलाडीलाई सुटुक्क खजुर र गुलियो पेय पदार्थ दिन्थे भने कोही घाइते खेलाडीको उपचार गर्न आउँदा टन्न केरा पनि बोकेर आउँथे।
सन् २०१८ को विश्वकपअघि रमादानको समयमा पोर्तगाल र टर्की विरूद्धका मैत्रीपूर्ण खेलमा ट्युनिसियाका गोलरक्षकले पनि घाइते भएको नाटक गरेर आफ्नो टिमका साथीहरूलाई व्रत तोड्ने मौका दिएका थिए। रोचक कुरा के छ भने खेल रोकिनुअघि दुवै खेलमा पछि परिरहेको ट्युनिसियाले दुवै खेल २-२ को बराबरीमा रोकेको थियो।
सन् १९९९ मा इंग्ल्यान्डको क्लब कोभेन्ट्री सिटीबाट खेल्न थालेपछि चिप्पोले पनि रमादानका बेला व्रत तोड्ने उपाय निकाले। कुनै खेलको बीचमै इफ्तार अर्थात् व्रत तोड्न साँझमा खाने खानाको समय हुने भयो भने उनी आफ्नो टिमको स्टाफको कुनै सदस्यलाई खजुरका दाना र एक बोतल पानी बोकेर मैदानको छेउमा उभिन लगाउँथे। व्रत तोड्ने बेला भएपछि ऊ खजुर र पानी बोकेर चिप्पोतिर कुदेर जान्थ्यो।
कुनै समय मुस्लिम खेलाडीहरूको रमादान व्रतलाई दुरुत्साहित र आलोचना गर्नुपर्ने विषयका रूपमा हेर्ने फुटबलले हालैका वर्षहरूमा भने यसप्रति आफ्नो दृष्टिकोण र व्यवहार परिवर्तन गर्न थालेको छ। कतिपय विश्वकै धनाढ्य फुटबल लिग र टिमहरूले रमादानको व्रतलाई पूर्ण रूपमा अँगाल्न थालिसके।
आजभोलि युरोपमा मुस्लिम खेलाडीहरूका लागि रमादानअघि र रमादानका बेला खानपिनको छुट्टाछुट्टै व्यक्तिगत तालिका बनाइन्छ र उनीहरूको व्रतलाई ध्यानमा राख्दै टिमको अभ्यास तालिका पनि परिवर्तन गरिन्छ। मुस्लिम खेलाडीहरूले खेल मैदानमै व्रत तोड्न पाऊन् भनेर कतिपय लिगहरूले खेल रोक्ने अनुमति पनि दिन थालेका छन्।
इंग्ल्यान्ड र नेदरल्यान्ड्सका लिगले रमादानका बेला व्रत तोड्न खेल रोक्न पाउने नियम ल्याएका छन् भने जर्मनीमा पनि रेफ्रीहरूलाई सोही कारणका लागि खेल रोक्ने अधिकार दिइएको छ।
फुटबललाई रमादानमैत्री बनाउने यो अभ्यासमा फ्रान्स भने अपवादका रूपमा देखिएको छ। फ्रान्सको फुटबल संघले (एफएफएफ) हालै धर्मनिरपेक्षता कडाइका साथ कायम राख्ने नाममा राष्ट्रिय टिमको प्रशिक्षण शिविरमा रहेका मुस्लिम खेलाडीहरूले रमादानको व्रत लिन नपाउने नीति ल्यायो। उक्त कदमको व्यापक आलोचना भयो भने फ्रान्सको अन्डर-१९ फुटबल टिमका एक खेलाडीले त्यसको विरोधमा टिम नै छोडे।
फ्रान्सको संविधानले मूल, जाति वा धर्मको भेदभावबिना कानूनका अगाडि सबै नागरिकको समानता सुनिश्चित गर्ने र सबै आस्थालाई सम्मान गर्ने व्यवस्था गरेको छ। धार्मिक स्वतन्त्रतामा हस्तक्षेप गरेको खण्डमा जरिवाना र जेल सजायको भागीदार हुनुपर्नेछ।
फ्रान्सको सरकारले जनगणना गर्दा पनि आफ्ना नागरिकको धर्म र जातिसम्बन्धी तथ्यांक संकलन नै गर्दैन।
टाइम पत्रिकाका अनुसार गत वर्ष पनि फ्रान्सको घरेलु लिगका रेफ्रीहरूलाई रमादानका सूर्यास्तमा खेल नरोक्न निर्देशन दिइएको इमेल बाहिर आएपछि एफएफएफ विवादमा घेरिएको थियो।
युरोपेली लिगमा देखिएका यी रमादानमैत्री परिवर्तनका पछाडि केही व्यावहारिक कारणहरू पनि छन्। फुटबलमा मुस्लिम खेलाडीहरूको उपस्थिति र महत्त्व बढ्दै गइरहेको छ। विश्वका ठूला क्लबहरूले मुस्लिम खेलाडीहरूमा करोडौं डलर लगानी गरेका छन्। द एथलेटिकका अनुसार प्रिमियर लिगमा मात्रै हाल ४० भन्दा बढी मुस्लिम खेलाडी छन्। र यी खेलाडीहरू आफ्ना आवश्यकताहरूका बारेमा पहिलेभन्दा सशक्त रूपमा आवाज उठाइरहेका छन्।
दुई सिजनअघि इंग्लिश क्लब लिभरपुलका फरवार्ड साडियो मानेले आफ्नो टिमका कप्तानलाई प्रशिक्षक यर्गेन क्लोपसँग रमादानमा दैनिक अभ्यास बिहान सार्ने प्रस्ताव राख्न भने। त्यसो गर्दा उनी र मोहम्मद सालाहलगायत अरू मुस्लिम खेलाडीले सूर्योदयअघिको खाना खाने समयको छेउछाउ अभ्यास गर्न पाउँथे। क्लोपले पनि उनको यो प्रस्ताव स्वीकार गरे।
सन् २०२१ अप्रिल २६ मा क्रिस्टल प्यालेस र लेस्टर सिटीबीच भएको खेल दुवै टिम र रेफ्रीको सहमतिमा रमादानको व्रत तोड्न छोटो समयका लागि रोकिएको थियो। इंग्लिस प्रिमियर लिगमा रमादानको व्रत तोड्न खेल रोकिएको यो नै पहिलो घटना मानिन्छ।
उक्त खेल सुरू भएको आधा घन्टापछि क्रिस्टल प्यालेसका गोलरक्षकले फ्री किक हान्न अलमल गरेर मुस्लिम खेलाडी वेस्ली फोफाना र शेखु कुयाटेलाई व्रत तोड्ने मौका दिएका थिए। तर यो सबै यति छिटो भयो कि रंगशालामा उपस्थित कसैले पनि थाहै पाएनन्। त्यसको भोलिपल्ट फोफानाले ट्विटरमा प्रिमियर लिग, क्रिस्टल प्यालेसका गोलरक्षक र दुवै टिमलाई खेलको बीचमा व्रत तोड्ने अवसर दिएकोमा धन्यवाद दिएपछि मात्रै उक्त घटना बाहिर आएको थियो।
आर्सनलबाट खेल्ने इजिप्टका मिडफिल्डर मोहमद एलनेनीका अनुसार खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिराख्न सकून् भनेर टिमले उनीहरूलाई रमादान सुरू हुनुभन्दा दुई हप्ताअघि तयार पार्न थाल्छ। यो प्रक्रिया रमादानको अघिल्लो दिन दोहोर्याइन्छ। प्रिमियर लिग लगायत अरू युरोपेली लिगका दर्जनौं क्लबहरूले पनि अहिले त्यसो गर्न थालिसकेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)