राजधानीमा जारी सहिद स्मारक सी डिभिजन लिगको शुक्रबारका खेल विवादका कारण निर्धारित समयमा सञ्चालन हुन सकेन।
स्वयम्भू र सामाजिक युथ क्लबबीचको खेल निर्धारित समयभन्दा ढिलो गरी सुरु हुँदा आरसी ३२ र समाज कल्याणबीचको दोस्रो खेल १५ मिनेट धकेलियो।
आरसी ३२ ले खालीबारी युवा क्लब र महावीर क्लबविरूद्धको खेलमा अर्कै क्लबमा आबद्ध खेलाडी निमयविपरित खेलाएको दाबी गर्दै यसअघि नौ क्लबले एन्फामा ध्यानाकर्षण गराएका थिए।
आरसी ३२ लाई अहिलेसम्म कारबाही प्रक्रिया नबढाएको विरोधमा क्लबहरुले आजको खेलमा मैदान उत्रन नमानेका हुन्। एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङले कारबाही प्रक्रिया अघि बढ्ने तथा आजको खेलमा अवरोध नगर्न आग्रह गरेपछि मात्र क्लबहरु खेल तयार भएका थिए।
यसअघि खालीबारी र महावीर क्लबले एन्फामा छुट्टा-छुट्टै उजुरी समेत दर्ता गराएका थिए। खेलाडी दर्ता नियमावली विपरित काम गरेको भन्दै दोषीलाई कारबाही गर्न सी डिभिजनमा आबद्ध नौ क्लबले ध्यानाकर्षण पत्र समेत दर्ता गराएका थिए।
एन्फाको खेलाडी दर्ता नियमावलीमा एक खेलाडी एक क्लबमा मात्र दर्ता भएर खेल्न सक्ने नियम भए पनि आरसी ३२ ले बी डिभिजन क्लब झापा फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगरलाई खेलाइएको क्लबहरुको दाबी छ।
गत चैत २२ गते खालीबारीविरुद्धको खेलमा मगरलाई खेलाएपछि एन्फामा खालीबारीले उजुरी दिएको थियो। त्यतिबेला कारबाहीको प्रक्रियामा रहेको भन्ने एन्फाबाट मौखिक जानकारी प्राप्त भएकोमा आरसी ३२ ले गत वैशाख ४ मा महावीर क्लबविरूद्धको खेलमा निज मगरलाई टिममा राखेकोमा क्लबहरुले आपत्ति जनाएका थिए। मगरले वैशाख ४ गते मात्र झापा क्लबबाट रिलिज पत्र ल्याए पनि खेलाडी दर्ता ४८ घन्टाअघि नै हुनु पर्ने फिफा र एन्फाको नियम भएको पनि क्लबहरुको दाबी छ।
विरोध गर्ने नौ क्लबमा महावीर स्टडिज एन्ड एथ्लेटिक्स सेन्टर , खालीबारी युवा फुटबल क्लब,स्वयम्भू क्लब,सामाजिक युवा क्लब, झम्सीखेल युथ क्लब, मनोहरा एकिकृत युवा क्लब, पुल्चोक स्पोर्ट्स क्लब, गोलबजार स्पोर्ट्स क्लब र समाज कल्याण खेलकुद केन्द्र रहेका छन्।