एन्फा महिला लिगमा शीर्ष स्थानको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले संकटा क्लबमाथि सहज जित दर्ता गराएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटालाई एपिएफले ३-० गोलले पराजित गरेको हो।
एपिएफको जितमा सरु लिम्बूले १३ मिनेटमा पहिलो गोल गरिन्। ५१ मिनेटमा अनिता केसीले अग्रता दोब्बर पारेकी थिइन्।
६४ मिनेटमा सविता राना मगरले तेस्रो गोल गरेपछि एपिएफ सहज स्थितिमा देखियो।
जितसँगै शीर्ष स्थानको एपिएफको ६ खेलबाट १६ अंक भएको छ। एपिएफले ५ खेलमा जित निकाल्दा १ खेलमा बराबरी खेलेको छ।
संकटा भने ६ खेलबाट ५ अंक जोडेर सातौं स्थानमा छ। संकटाले ६ मध्ये तीन खेलमा हार बेहोर्दा १ जित र २ बराबरी खेलेको छ।