युरोपको सबैभन्दा ठूलो क्लबस्तरिय फुटबल प्रतियोगिता युइएफए युरोपियन च्याम्पियन्स लिगको लिग चरणका खेलहरू मंगलबारदेखि सुरू भएका छन्।
यो सिजनदेखि युरोपियन फुटबल महासंघ (युइएफए) ले नयाँ ढाँचामा युरोपियन च्याम्पियन्स लिग आयोजना गर्दैछ। यसअघि समूह चरणको खेल हुने भए पनि यसपटक भने लिग चरणको खेल सुरु भएका हुन्।
यसअघि सिधा छनोट र छनोट चरण पार ३२ टोलीबीच आठ वटा समूहमा प्रतिस्पर्धा हुन्थ्यो। आठ समूहका शीर्ष दुई दुई टिम गरी कुल १६ टोली नकआउट चरण अथवा अन्तिम १६ मा पुग्थे।
तर यसपटक भने युरोपका विभिन्न लिगबाट सिधा छनोट भएका र छनोट चरण पार गरेका गरी कुल ३६ टोलीबीच लिग चरणका खेल खेलाइँदैछ। यद्यपी सबै ३६ टोली एक आपसमा भने भिड्न पर्नेछैन। तर उनीहरूले ८ टोलीसँग भने प्रतिस्पर्धा गर्नुपर्नेछ। विभिन्न आठ टोलीसँग भिड्दा चार खेल घरेलु मैदान र चार खेल प्रतिद्वन्द्वीको मैदानमा हुनेछन्।
लिग चरणको मुख्य उद्देश्य बढी खेल खेलाउने देखिन्छ। यसअघि एक टोलीले समूह चरणमा ६ खेल खेल्दा यसपटक भने लिग चरणमा एक टोलीले ८ खेल खेल्नु पर्नेछ। त्यसै पनि टोली बढेकाले खेल संख्या अझ बढेको छ।
लिग चरणमा प्रतिस्पर्धा गर्ने कुल आठ टोलीको ड्र पनि सफ्टवेरमार्फत् डिजिटल रुपमा भएको थियो।
अब लिग चरणमा आठ वटा म्याच डेमा खेल हुनेछन्। जसको अन्तिम लिग खेलहरु आगामी २९ जनावरीमा हुनेछन्।
प्रत्येक टोलीले आठ आठ खेल खेलेपछि लिगको अंक तालिमा शीर्ष आठमा पुग्ने टोलीहरुले सिधा अन्तिम १६ मा स्थान पक्का गर्नेछन्। २५औं देखि ३६औं स्थानमा रहने १२ टोली बाहिनेछन्।
त्यस्तै नवौं देखि २४औं स्थानसम्म रहेन १६ टोलीबीच प्लेअफ हुनेछन्। होम एन्ड अवेको आधारमा हुने प्लेअफ जित्ने आठ टोली अन्तिम १६ मा पुग्नेछन्।
उदाहरणका लागि साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिड लिग चरणमा सहभागी ३६ मध्येको एउटा टोली हो। अब उसले लिग चरणमा आठ खेल खेल्नेछ। पहिलो खेलमा स्टुटगार्डलाई ३-१ ले पराजित गरेको रियलले अब लिल, बोरुसिया डर्टमन्ड, एसी मिलान, लिभरपुल, एटलान्टा, रेडबुल साल्ट्बर्ग र ब्रेस्टसँग खेल्नेछ।
आठ टोलीसँग खेलेपछि अंक तालिकाको शीर्ष आठमा परे रियल सिधै अन्तिम १६ मा पुग्नेछ। नवौंदेखि २४औं स्थानमा परे प्लेअफ खेल्नु पर्नेछ। २५औं देखि ३६औं स्थानमा रहे बाहिरिनेछ। प्लेअफमा होम एन्ड अवेमा गरी दुई लेगको खेलमा जित निकाल्न सके अन्तिम १६ मा पुग्दै नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछ।