एन्फा महिला लिगमा बागमती युवा क्लबविरूद्ध वालिङ नगरपालिकाले सहज जित निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा वालिङ ४-० गोलले विजयी भयो।
वालिङका लागि ज्याकलिन नासालीले ह्याट्रिक गरिन्। उनले खेलको ४१, ६४ र ८३ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
त्यसअघि वालिङले खेलको २२औं मिनेटमा अग्रता लिएको थियो। वालिङका लागि सिसे नाङटोङगोले पहिलो गोल गरेकी हुन्।
जारी लिगमा वालिङ चौथो स्थानमा उक्लिएको छ। उसले ६ खेलबाट १२ अंक जोडेको छ। वालिङले ४ खेलमा जित निकाल्दा २ खेलमा पराजय भोगेको छ।
बागमती भने चार अंकसहित आठौं स्थानमा छ। उसले १ खेलमा जित र १ खेलमा बराबरी खेल्दा बाँकी ४ खेलमा हार बेहोरेको छ।