इंग्लिस प्रिमियर लिगअन्तर्गत शीर्ष स्थानको म्यानचेस्टर सिटी सम्भावित हारबाट जोगिएको छ। आइतबार राति भएको खेलमा सिटीले आर्सनलसँग २-२ गोलको बराबरी खेलेको हो।
दोस्रो हाफको अन्तिमसँग २-१ गोलले पछि परेको सिटीका लागि जोन स्टोन्स ९०+८ मिनेटमा गोल गरेका थिए।
त्यसअघि खेलको नवौं मिनेटमा हाल्यान्डको गोलबाट सिटीले अग्रता लिएको थियो। तर पहिलो हाफ सकिदा आर्सनल २-१ गोलले अघि रह्यो।
आर्सनलका लागि कलाफिओरीले २२ मिनेटमा बराबरी गोल गर्दा ग्रेबियल मागालेसले ४५+१ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए।
तर आर्सनल पहिलो हाफको इन्जुरी टाइमको आठौं मिनेटमा दश खेलाडीमा सीमित बन्यो। उसका ट्रोसार्डले दोस्रो पहेँलो कार्ड पाउँदा दोस्रो हाफ पूरै दश खेलाडीमा खेल्न पर्यो। ट्रोसार्डलाई अनावश्यक रुपमा बल फ्याँकेको भन्दै दोस्रो पहेँलो कार्ड देखाइएको थियो।
तर पनि आर्सनलले सिटीलाई अन्तिमसम्म रोकेको थियो।
लिगमा दुवै टोली अहिलेसम्म अपराजित छन्। यद्यपी सिटीको जितको यात्रा भने रोकियो। यसअघि लगातार चार खेलमा जित निकालेको शीर्ष स्थानको सिटीको ५ खेलबाट १३ अंक छ। लिभरपुल र एस्टन भिल्ला १२-१२ अंक जोडेर क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। चौथो स्थानको आर्सनलको ११ अंक छ।