एन्फा महिला लिगमा शीर्ष स्थानको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सुदूरपश्चिमविरूद्ध गोलको वर्षा गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले १९-० को जित निकालेको हो।
पहिलो हाफमा ११ गोल गरेको एपिएफले दोस्रो हाफमा ८ गोल थपेको थियो।
एपिएफका लागि रश्मीकुमारी घिसिङले चार गोल गरिन्। उनले ८, ४२, ४७ र ७६ मिनेटमा गोल गरेकी थिइन्। यस्तै अनिता केसीले १४, ४५+२, ४५+३ र ६२ मिनेटमा गरी चार गोल नै गरिन्।
प्रिति राईले पनि ४५+४, ६४ र ६७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। सविता राना मगरले ३० र ४४ मिनेटमा गरी दुई गोल गरिन्। कुसुम खतिवडाले पनि ८२ र ८६ मिनेटमा गरी दुई गोल गर्न सफल भइन्।
अनिता बस्नेतले १७, सरु लिम्बुले ३३ र रेनुका हमालले ९० मिनेटमा गोल गर्न सफल भए। ३९ मिनेटमा सुदुरकी सुमि हाङमा राईले आत्मघाती गोल गरेकी थिइन्।
जितसँगै शीर्ष स्थानकव एपिएफको ७ खेलबाट २२ अंक भएको छ। पुछारको सुदूरपश्चिमले खेलेका सातै खेलमा हार ब्यहोरेको छ।
उसले अहिलेसम्म ६५ गोल खाइसकेको छ। यसअघि सुदूरले त्रिभुवन आर्मीसँग १४-१ गोलको हार ब्यहोरेको थियो।