मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर मृत्यु भएका ६ किशोर खेलाडीको विषयमा स्पष्ट जानकारी दिन परिवारले माग गरेका छन्।
पहिरोमा पुरिएर ज्यान गुमाएका खेलाडी अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको प्रशिक्षण लिनुका साथै स्थानीय वत्सलादेवी माविमा अध्ययन गरिरहेका थिए। एकेडेमीबाट सुरक्षित स्थानमा जाने क्रममा शनिबार खेलाडीहरू बाटोमै पहिरोमा परेका थिए।
पहिरोमा परी मृत्यु भएपछि शनिबार नै सबैको शव सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पताल ल्याइएको थियो।
तर एन्फाबाट घटनाको विषयमा स्पष्ट जानकारी तथा सत्य तथ्य छानविन गर्न माग गरेका छन्। छानविन नगरे शव नउठाउने परिवारको अडान छ।
पहिरोमा परी ज्यान गुमाएका एक खेलाडीका आफन्तले घटनाको विषयमा एन्फाले २४ घन्टा बितिसक्दा पनि स्पष्ट जानकारी नदिनु दुखद् भएको बताए।
‘घटना भएको २४ घन्टा बितिसक्दा पनि एन्फाले हामीलाई घटना कसरी भयो भनेर आधिकारिक जानकारी दिएको छैन। हामी समाचार हेरेर शिक्षण अस्पताल आएका हौं,’ उनले भने, ‘एन्फाले १३ वर्ष मुनिका खेलाडीको जिम्मा लिएपछि घटनाको पनि जिम्मा लिनु पर्छ।’
उनले एन्फाका सम्बन्धित व्यक्तिले घटनामा लापरवाही गरेको समेत आरोप लगाए।
‘कुलेखानी जलाशय भरिएर खोल्ने सूचना दुई दिनअघि नै आएको थियो। यदि त्यहाँबाट खेलाडी अयन्त्र सार्नु पर्ने हो भने किन जलाशय भरिएपछि मात्र सार्न खोजियो,’ उनले भने, ‘यो विषयमा हामीले एन्फाबाट स्पष्ट जानकारी माग गरेका हौं। आवश्यक परे प्रहरीमा उजुरी समेत दिन्छौं।’
केही परिवारका सदस्य आइतबार प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिन समेत पुगेको बताए। तर प्रहरीले उजुरी लिन नमानेको उनको भनाइ छ। प्रहरीले सिस्नेरीमै उजुरी दिन भनेको उनले बताए।
‘सायद माथिको दबाब भएर पनि होला उजुरी लिन मान्नु भएको छैन। यस्तो पहिरोको बीचमा सिस्नेरीमा पुगेर उजुरी दिने अवस्था पनि छैन,’ उनले भने।
शनिबार बिहान कुलेखानी जलाशय भरिएर बाँध फुट्ने सम्भावना बढेपछि नेपाल विद्युत् प्राधिकरणले बाँधका दुइटा ढोका खोलेर पानी बाहिर पठाएको थियो। बाँधको ढोका खोल्दा सिस्नेरी खोलामा एक्कासि बाढी आएको थियो। त्यही बेला वत्सलादेवी माविको छात्रवासमा बसिरहेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लैजाने क्रममा पहिरोमा परेर ६ जना विद्यार्थीको मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ।
घटनामा मकवानपुर हेटौंडाका अनुपम घलान, साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, काठमाडौंका प्रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी छन्।
४० जना विद्यार्थी एन्फा एकेडेमीको क्याम्पमा प्रशिक्षण लिनुका साथै स्थानीय वत्सलादेवी माविमा अध्ययन गरिरहेका थिए। बाँकी ३४ जना विद्यार्थीको भने उद्धार गरिएको थियो।
यो विषयमा एन्फाका प्रवक्ता सुरेश शाहले परिवारसँग समन्वय गरिरहेको बताए। उनले प्राकृतिक प्रकोपमा परेर खेलाडीको गुमाउनु पर्दा एन्फा मर्माहत भएको बताउँदै परिवारलाई स्पष्ट जानकारी दिने बताए।