बार्सिलोना र स्पेनका लेजेन्ड आन्द्रेस इनिस्टाले ४० वर्षको उमेरमा व्यावसायिक फुटबलबाट संन्यासको घोषणा गर्ने भएका छन्।
उनी पछिल्लो समय युएईमा एमिरेट्स क्लबसँग खेल्दै आएका छन्। उनले त्यसअघि जापानको भिसेल कोबेबाट पाँच वर्ष खेलेका थिए।
उनले २०१८ मा बार्सिलोना छाडेका थिए।
लिओनल मेसी, जाभी र सर्जियो बुस्केट्सको साथमा इनिस्टा बार्साको प्रसिद्ध एकेडेमी प्रणालीबाट उत्पादन भएका खेलाडी हुन्।
उनले बार्सिलोनाका लागि ६७४ खेल खेलेका थिए। उनले बार्सिलोनाबाट नौ ला लिगा उपाधि र चार च्याम्पियन्स लिगको ट्रफी उचालेका थिए।
स्पेनिस टोलीबाट उनले १३१ खेल खेल्दा दुई युरो कप र २०१० को विश्वकप जिते। उनले विश्वकपमा फाइनलमा नेदरल्याण्ड्सविरुद्ध अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए।
उनले आफ्नो मनपर्ने जर्सी नम्बरसँग मिल्ने मिति अक्टोबर ८ मा आफ्नो सन्यासको पुष्टि गर्नेछन्। पूर्व बार्सिलोना स्टार मेसी र बुस्केट्ससँग अमेरिकाको इन्टर मियामीमा उनी जाने बताइए पनि त्यहाँ उनी गएनन्। अब उनी बार्सिलोनाको प्रशिक्षण टिममा जोडिने आँकलन गरिएको छ।