एन्फा महिला लिग २०२४ अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले संकटा महिला फुटबल क्लबलाई पराजित गरेको छ।
पुलिसले अन्तिम खेलमा २-१ गोलको जित निकालेको छ। पुलिसले खेलको तेस्रो मिनेटमा अनुष्का शेर्पाको गोलबाट अग्रता लियो।
सातौं मिनेटमा समिक्षा घिमिरे पेनाल्टीमा गोल गर्न चुकिन। तर लगत्तै उनले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारिन्।
खेलको ७३ मिनेटमा संकटाकी सेलेना अनिमाले गरेको गोल सान्त्वनमा सीमित बन्यो।
यससँगै महिला लिगको पहिलो चरणका खेल सकिएका छन्। यो खेलमा यसअघि सेस्नेरी पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका पाँच खेलाडीको सम्झनामा मौन धारण गरिएको थियो। त्यहिँ घटनाका कारण यो खेल एक साता सरेको थियो।
अब महिला लिगको दोस्रो चरणमा पाँच टोलीबीच सुपर लिग हुनेछ। सुपर लिगमा ९ खेलबाट २५ अंक शीर्ष स्थानको एपिएफ, २२ अंक जोडेको त्रिभुवन आर्मी क्लब, २१ अंक जोडेको नेपाल पुलिस क्लब, १५ अंक जोडेको वालिङ नगरपालिका र १४ अंक जोडेको कोशी प्रदेशबीच खेल हुनेछ।