शीतकालीन ओलम्पिक खेलकुद आजबाट दक्षिण कोरियामा सुरू हुँदैछ। २३ औं संस्करणको यस विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङचाङमा हुनेछ।
विन्टर ओलम्पिकको इतिहासमै सबैभन्दा चिसो मानिएको प्योङचाङ ओलम्पिक १७ दिन चल्नेछ। १३ स्थानमा हुने विन्टर ओलम्पिकमा १५ खेलमा प्रतिस्पर्धा हुनेछ। कूल १०२ पदकको लागि ३ हजार बढी खेलाडीले स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।
यो पटकको विन्टर ओलम्पिक राजनैतिक चासोको विषय समेत बनेको छ। उत्तर कोरिया र दक्षिण कोरियाबीचको चिसो सम्बन्धको कारण पनि विन्टर ओलम्पिक चासोको बिषय बनेको छ। यसै ओलम्पिकबाट दुई कोरियाबीचको सम्बन्धमा सुधार आउने बताइएको छ ।
उत्तर कोरियाले खेलाडी, चियर लिडर्स, कलाकारसहितको ५५० सदस्य टोलीलाई दक्षिण कोरिया पठाएको छ। दुई कोरियाका महिला आइस हक्की टिम एकै टिम भएर प्रतिस्पर्धासमेत गर्नेछन्।