आयोजक नेपाल एपीएम टेबलटेनिस क्लबकी आराध्या विष्टले चौथो एपीएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपको यु–१० गल्र्स सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन्।
भैसेपाटीमा भइरहेको प्रतियोगिताको फाइनलमा आराध्याले प्रभातकी आरोही सुवाललाई ११–७, ११–९, ११–७ र ११–८ को सोझो सेटमा पराजित गरिन्। होप्स टेबलटेनिस एकेडेमीकी दिब्या बम र यल टेबलटेनिसकी मेरिशा श्रेष्ठ तेश्रो भए। सोही स्पर्धाको ब्वाइजमा एपीएमका दिनेश बोहराले फाइनलमा यलका सट्रिकरत्न शाक्यलाई सीधा सेटमा ११–८, ११–४, ११–८ र ११–६ ले हराउदै पहिलो भए। ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबका कृतन श्रेष्ठ र एपीएमका जोन गुरुङ तेश्रो भए।
यु–१२ ब्वाइज सिंगल्समा गोड स्पिन टेबलटेनिस एकेडेमीका रिभानमुनि वज्राचार्य पहिलो भए। उनले फाइनलमा खोल्छ पुखु टेबलटेनिस क्लबका निर्भिक शाक्यलाई ११–५, १५–१३, ११–५ र ११–४ को सोझो सेटमा पाखा लगाए। इकाछेनका रेजिन शाक्य र ज्ञानभैरवका विनम्र घिमिरे तेश्रो बने। उक्त स्पर्धाको गल्र्स फाइनलमा प्रभातकी उरवी सुवालले एपीएमकी ममता बोहरालाई ११–९, ११–६, ११–९ र ११–१ को सेटमा पन्छ्याउदै शीर्ष स्थानमा रहिन्। जेम्सका शिवानी यादव र सुहाना महर्जन तेश्रो भए।
यु–१६ ब्वाइज सिंगल्समा कीर्तिपुरका जयश्नु महर्जनले स्वर्ण जिते। जयश्नुले फाइनलमा यलका रिजन शाक्यमाथि ७–११, १४–१६, १२–१०, ११–६ र ११–३ को जित रचे। यलका अर्नव श्रेष्ठ र एभरेष्टका आर्यन शाही तेश्रो स्थानमा रहे। त्यसै स्पर्धाको गल्र्समा टिम भक्तपुरकी क्यारिना सुवालले स्वर्ण चुमिन्। क्यारिनाले फाइनलमा एपीएमकी महिमा महताको चुनौती ११–५, ११–८, ६–११, ११–५ र १३–११ ले पन्छाइन्। भक्तुपुरकी नर्मदा खाइतु र होप्सकी प्रमिला जोशीले कांस्य जिते।
तीनदिने प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन्। हरेक स्पर्धाका पदक विजेतालाई सिओम नेपाल, टाग्रो टेबलटेनिस कम्पनी र ल्याम्प एन्ड लाइट कम्मनीद्वारा प्रायोजित खेल सामाग्री र पोशाक पुरस्कार स्वरुप प्रदान गरिने छ। करिब १० लाख रुपैयाँ मुल्य बराबरको खेल सामाग्री र पोशाक उपलब्ध गराइने आयोजकले जनाएको छ।