रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा निर्माण हुने भनिएको उजीरसिंह रंगशालाको लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निणर्य भएको छ।
गत असोज १८ गते बसेको संघीय मन्त्रिपरिषद् बैठकले बुटवल १३ जवईमा निर्माण हुने उजीरसिंह रंगशाला आयोजनाको लागि राष्ट्रिय वन क्षेत्रको ३ हेक्टर जग्गा बुटवल उपमहानगरपालिकालाई प्रयोग गर्न दिने निणर्य गरेको हो।
बुटवल उपमहानगरपालिका वडा नम्बर १३ सालघारीस्थित जवई खेल मैदानलाई स्तरोन्नति गरेर उजीरसिंह रंगशाला बनाउन बुटवल उपमहानगरपालिकाले २०७५ सालमै ५० लाख रुपैयाँ खर्च गरेर डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बनाएको थियो।
डिपिआर बनाएपछि उपमहानगरपालिकाको ५ लाख र लुम्बिनी प्रदेश सरकारको १० लाख गरी १५ लाख रुपैयाँमा रंगशालाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम गरिएको थियो।
डिपिआरअनुसार रंगशालाको साढे ४ बिगाहा क्षेत्रफलमध्ये १५ मिटर मात्रै जग्गा जितेश्वरी सामुदायिक वनमा परेको र जग्गा प्राप्ती हुन नसकेपछि डिपीआर र इआइएको काम पूरा भए पनि रंगशाला निर्माणको काम अगाडी बढेको थिएन।
गत शुक्रवार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले रंगशाला आयोजनाको लागि राष्ट्रिय वन क्षेत्रको ३ हेक्टर जग्गा बुटवल उपमहानगरपालिकालाई प्रयोग गर्न दिने निणर्य गरेपछि भने अब प्रदेश स्तरको रंगशाला बनाउने प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाको सपना पूरा हुने भएको छ।
रंगशाला पश्चिमतर्फको सामुदायिक वन बुट्यानसहितको ढिस्कोलाई मिलाएर प्याराफिट निर्माण गर्ने गरी डिपीआर तयार गरिएको छ। जग्गा प्राप्त गर्न नसके पनि प्रदेश सरकारले रंगशाला निर्माण गर्ने भन्दै विगत चार वर्षदेखि नियमित बजेट विनियोजन गर्दै आएको थियो।
तर रंगशाला निर्माण गर्ने भनिएको केही जग्गा वन क्षेत्रको परेको र जग्गा प्राप्ती हुन नसक्दा हरेक वर्ष सबै बजेट फ्रिज हुँदै आएको थियो।
प्रदेश सरकारले रंगशालाको लागि आर्थिकवर्ष २०७६/०७७ सालमा ५ करोड, २०७७/०७८ मा ४ करोड, २०७८/०७९ मा ४ करोड, २०७९/०८० मा ५ करोड ५० लाख र २०८०/०८१ मा ४ करोड रुपैयाँ बजेट छुट्याएको थियो। तर हरेक वर्षको सबै बजेट फ्रिज हुँदै आएको थियो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले जग्गा प्रदान गर्ने निणर्य गरेपछि अब रंगशालाको काम अगाडी बढ्ने बताए। ‘वन क्षेत्रमा जोडिएको थोरै जग्गा प्राप्ती नहुँदा पाँचवर्षदेखि बजेट फ्रिज हुँदै आएको थियो, संघीय सरकारले जग्गा प्रदान गर्ने निणर्य गरेपछि अब रंगशाला निर्माणको काम अगाडि बढ्छ,’ मुख्यमन्त्री आचार्यले भने।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालू आर्थिक वर्षमा साढे ३ करोड बजेट विनियोजन गरेको जानकारी दिए।
‘बहुवर्षीय आयोजनाअन्तर्गत रंगशाला निर्माणको योजना अगाडि बढाइएको थियो, विगतका वर्षहरूमा बजेट फ्रिज हुँदै गएकोमा यसवर्ष साढे तिन करोड मात्र विनियोजन गरेपनि आगामी वर्षमा रकम बढाएर दुई तिन वर्षभित्रै निर्माणको काम सम्पन्न गर्ने गरि लाग्छौं,’ उनले भने।
मुख्यमन्त्री आचार्यले चाडपर्वको बीचमा जग्गा प्राप्तीको निणर्य भएकोले दसैं–तिहार लगत्तै रंगशाला निर्माणको लागि टेण्डर प्रक्रिया अगाडि बढाउने बताए।
‘यसै पनि रंगशाला निर्माणको काममा ढिलाइ भएको छ दसैं–तिहारपछि टेण्डर खुलाएर ठेक्का सम्झौता गर्छौं, दुई–तिन वर्ष भित्रैमा प्रदेशले नै गौरब गर्ने खालको सुविधासम्पन्न रंगशाला निर्माण हुन्छ,’ उनले भने।
रंगशालामा यसअघि बुटवल उपमहानगरपालिकाले नै जवई खेलमैदानको नाममा केही संरचना निर्माण गरेको छ। सोही संरचनाबाट विभिन्न प्रतियोगिता समेत हुँदै आएका छन्।
बुटवलको जीतगढीमा भएको अंग्रेज फौजसँगको लडाईमा अंग्रेजलाई पराजित गर्दै नेपालीहरुको वीरतालाई विश्वभर फैलाउने कर्णेल उजीरसिंह थापाको सम्मानमा उपमहानगरपालिकाले यो रंगशालालाई उजीरसिंह रंगशाला नाम दिएको थियो।
बहुउद्देश्यीय भनिएको रंगशाला निर्माणको लागि डिपिआर अनुसार ३७ करोडको लागत अनुमान गरिएको छ। रंगशाला प्रवेशका लागि चारवटा प्रवेशद्वार र चारैतर्फ १२ देखि २० हजार दर्शक अट्ने क्षमताको प्याराफिट निर्माण गर्ने गरी डिजाइन गरिएको छ।
विशेषगरी फुटबल ग्राउण्ड हुने रंगशालामा त्यसबाहिर एथलेटिक्स ट्रयाक, भलिबल, बास्केटबल, टेनिस कोर्ट, स्वीमिङ पुल लगायतका संरचना पनि निर्माण हुनेछन्।
यो पनिः १५ मिटर जग्गाले रोकियो उजिर सिंह रंगशाला