कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसहित तीन विभागीय टोली सेमीफाइनलमा पुगेका छन् ।
प्रतियोगिताको पाँचौँ दिनसम्म आइपुग्दा गण्डकी, एपिएफ, नेपाल आर्मी र पुलिस क्लब सेमीफाइनलमा पुगेका हुन् । बुधबार बिहान १०ः३० बजे पहिलो सेमीफाइनलमा समूह ‘ए’को विजेता सशत्र प्रहरी (एपीएफ) र गण्डकी प्रदेश भिड्ने छन् । साविक विजेतासमेत रहेको एपिएफ समूहका सबै चार खेलमा शतप्रतिशत नतिजासहित १२ अङ्क जोड्दै समूह विजेता बनेको हो ।
गण्डकी भने समूह चरणमा तीन खेल जित्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । यसले समूह चरणका तीन खेल जितेर नौ अङ्क प्राप्त गरेको छ । बुधबार दिउँसो १ बजे हुने दोस्रो सेमीफाइनल खेलमा समूह ‘बी’को विजेता आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
पुलिस भने समूह चरणमा अर्को विभागीय टोली एपिएफसँग पराजित भएपछि उपविजेताका रुपमा नौ अङ्कसहित अन्तिम चारमा पुगेको हो । आर्मीले समूह चरणका चारै खेल जितेर १२ अङ्क प्राप्त गरेको छ ।
बुधबार पहिलो र दोस्रो चरणमा हुने सेमीफाइनलका दुई विजेता टोली फाइनल खेलका लागि छनोट हुनेछन् । फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । यही पुस २० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताबाट कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् ।
–––