नाटक समीक्षा
यसपल्ट काठमाडौंमा तीनवटा नाटक हेरेँ।
शिल्पी थिएटरमा ‘शकुन्तलाको औंठी’, कौसी थिएटरमा ‘सेम टाइम नेक्स्ट इयर’ र बबरमहल रिभिजिटेडको खुला आकाशमुनि ‘ग्रोस इनडिसेन्सी’।
यी तीनै नाटक विदेशी हुन्। पहिलो हिन्दीबाट अनुवाद गरिएको हो। बाँकी दुई अंग्रेजीमै प्रस्तुत गरिएको छ। तीनै नाटक विधागत रूपमा फरक छन् र प्रस्तुतिमा पनि भिन्नता छ। भूगोल र सेटिङ फरक। पहिलो अस्तित्ववादी, दोस्रो यथार्थवादी र तेस्रो डकुमेन्टेटिभ।
नाटकमाथि निर्देशकले गर्न खोजेको ‘ट्रिटमेन्ट’ पनि अलग। यी तीन नाटक काठमाडौंमा एकैपल्ट मञ्चन हुनु नौलो संयोग हो। र सँगै केही समानताहरू पनि छन् जसले नेपाली थिएटरमा पछिसम्म असर गर्न सक्छन्।
यो लेखमा तीनै नाटकका बारेमा चर्चा गर्दै ती बीचका समानता र विशेषताहरूको चर्चा गरिन्छ।
नाटक १: शकुन्तलाको औंठी
नाटकभित्रको नाटक। स्टेजमा कलाकार रिहर्सल गरिरहेछन्। पात्रको कथा नेपाली रंगकर्मीसँग मिल्छ। सँगै शकुन्तलाको भूमिका निर्वाह गर्ने कनकको जीवन नाटक अगाडि बढ्दै जाँदा शकुन्तलाको जस्तै देखिन थाल्छ। उनी केवल कनक हुन्? वा भूमिका निभाइरहेकी शकुन्तला हुन् वा केवल शकुन्तला हुन्? यस्ता भिन्दाभिन्दै तहले दर्शकलाई घुमाइरहन्छन्।
शकुन्तलालाई पेट बोकाएर छोड्ने राजा दुष्यन्त र निलमलाई पेट बोकाउने नाटक निर्देशकमा फरक छैन।
समय कति फेरियो? युग त फेरियो तर के युगौंपछि महिलाले भोगिरहेका समस्या फेरिए?
नाटकले दुई भिन्दै युगलाई एकै ठाउँ ल्याएर जोड्छ। पुरानो युग कलियुगसम्म आइपुग्दा समाज कस्तो भयो? प्रश्न गर्छ। एउटा दृश्यमा निर्देशकको टाउकोमाथि आफ्नो टाउको राखेर उसको म्यानेजर आठ (8) आकारले औंला घुमाउँछन्। अङ्ग्रेजी अक्षरको त्यो आठ ढल्कियो भने ‘इन्फिनिटी’ (∞) बन्छ। अर्थात् दुई युग अहिले पनि इन्फिनिटीमै छन्। एउटा सकिएर अर्को युग आउँदै छैन।
फेयर एण्ड लभ्लीको एउटा विज्ञापन सम्झिन्छु, ‘आठको आकारमा अनुहार मालिस गरेर गोरोपन ल्याउनुहोस्’।
ऊ बेलाकी शकुन्तला र निलमले भोगेको नियति उस्तै छ। शकुन्तलाले हराएको औंठी र अहिले निलमले नाटकको प्रब्स बनाउन दिएको औंठी बिर्सिएको उस्तै छ। औंठी अर्थात् निशानी। औंठी अर्थात् सौन्दर्य। अर्थात् दासत्व। अर्थात् प्रयोग। अर्थात् महिला।
नाटकले प्रश्न गर्छ ‘शकुन्तलाले सत्ययुगमा बच्चा जन्माएर गरेको विद्रोह निलमले कलियुगमा बच्चा फ्याँकेर किन तुहाइन्?’ हामी अगाडि फर्किँदै छौं कि पछाडि?
नाटकको टेक्स्टमा प्रशस्त ‘मेटा टेक्स्ट’ र ‘सबटेक्स्ट’को प्रयोग छ। यसलाई रिहर्सलसँग सेट गर्नुको कारण नयाँ पुस्तालाई पुरानो टेक्स्टसँग नजिक बनाउनु त हो नै नयाँ पुस्ताले पुरानो टेक्स्टको महशुस गर्न नसकेको विडम्बना देखाउनु पनि हो।
‘कालिदासले यो दृश्य देखाउन आँखाको वर्णन किन गरे?’ भन्दै निर्देशक रिसाएको प्रसङ्गले कलाकारहरू दृश्यको गहिराइमा पुग्न नसकेको अवस्था देखाउँछ। सँगै कालिदासको नाटकलाई स्तानिसलाभास्किको मेथडसँग देखाउन खोजेको कारण नयाँ मेथड र टेक्स्ट आफैंमा पृथक कुरा हैनन् भन्ने बुझाउन हो। नाटककार मेथड र टेक्स्टबीचमा दूरी नबनोस् भन्ने चाहन्छन्।
मेथड आफैंमा सम्पूर्णता हैन। यो केबल पात्रसम्म पुग्ने माध्यम हो।
नाटकको निर्देशक पात्र गन्तव्यमा हिँडिरहेको गन्तव्यबिहीन यात्री हो। ऊसँग त्यत्ति धेरै पात्रहरूको जिम्मेवारी छ र सँगै छोडी हिँड्ने बाध्यता पनि। तत्कालीन भारतीय रंगमञ्च र अहिलेको नेपाली रंगमञ्चले भोगिरहेको अस्थिरताको प्रश्न यसले निर्देशक पात्रमार्फत् उठाएको छ।
नाटकलाई फिल्मसम्म पुग्ने पुल बनाइरहेका कलाकार, निर्देशनलाई छात्रवृत्तिसम्म पुग्ने खुड्किलो बनाइरहेको निर्देशक र अभिनयलाई डायलग डेलिभरीमा सीमित गराइरहेका कलाकार सबैलाई व्यंग्य गरेको छ नाटकले। र त्यो व्यंग्य नहुन पनि सक्छ।
र, गडफादर फिल्ममा माइकलकी प्रेमिका ‘एपोलोलिया’ को मृत्युको कथालाई मिसाएर नाटकले विषयलाई विश्वव्यापी बनाएको छ। यसले नाटकलाई केवल एउटा लोकेसन र युगभन्दा बाहिर लैजान्छ। पुरुष लेखकमार्फत् महिलाले भोगेको समस्या एउटै छ भन्छ।
सेम टाइम नेक्स्ट इयर
दुई पात्र समाजको दायराभन्दा बाहिर छन्। उनीहरूको विवाह भइसकेको छ। बच्चाबच्ची छन्। र पनि नजिकिन्छन्। वर्षमा केवल एकपल्ट एउटा होटलको कोठामा भेट हुन्छ। नाटक उनीहरूले २४ वर्षसम्म लगातार भेटेको त्यही कोठामा सुरू हुन्छ र सकिन्छ।
नेपालमा त्यस्तै कोठा कति होलान्? जर्ज र डोरिस् जस्तै पात्र कति होलान्?
तपाईं वर्षमा एकपल्ट भेट हुने मान्छेसँग के/के बोल्नुहुन्छ?
जर्ज र डोरिस् केवल नाटकको डायलग हैन अमेरिकाको सब्जेटिक हिस्ट्री बोल्छन्। त्यो परिवर्तित समाज बोल्छन् जुन परिवर्तन भएको हेक्का स्वयं परिवर्तन हुनेहरूलाई थाहा छैन। परिवर्तन कसरी एक व्यक्तिमा छिर्छ? उसको सोचाइ, लगाइ, बुझाइ, र सिकाइलाई कसरी फेर्छ समाजले?
जर्ज कसरी बूढो हुँदै जान्छ र डोरिस कसरी जवान हुँदै जान्छे? एक वर्ष अगाडिको हामी र अहिलेको हामीमा के फरक छ?
नाटककार बर्नाड सेडले दुई पात्रको यात्रमार्फत सिंगो विश्वको यात्रा देखाउँछन्। भियतनाम युद्धमा छोरो मारिँदा जर्जको फ्रस्टेसन युद्धमा छोरो गुमाउने विश्वको जुनसुकै बुवासँग मिल्छ। आफूलाई स्वतन्त्र राख्न चाहने डोरिसको चाहना विश्वभरका महिलाहरूको आवाज बोल्छ। र, भिन्दै समाजका उनीहरू त्यो कोठामा आएर एक अर्काको समाजलाई बिसाउँछन्।
त्यसैले यो नाटक एक्स्ट्रा म्यारिटल अफेयर नभइ एक्स्ट्रा इमोसनल रिलेसनसिप हो। उनीहरू एक आपसमा भेटेर भएको सम्बन्ध भत्काइरहेका छैनन् बरु नयाँ सम्बन्ध बनाइरहेका छन्। बिल्कुलै भावनात्मक।
नाटकको अन्त्यमा जर्जकी श्रीमती मरेको खबर सुनेपछि डोरिस् भन्छिन् ‘मलाई वर्षौंदेखि आफूले चिनिरहेको कुनै साथी गुमाएको जस्तो लागिहेको छ।’
यसमा पनि ‘शकुन्तलाको औंठी’ मा जस्तै ‘सबटेक्स्ट’को प्रयोग एकदमै धेरै छ। साना साना प्रब्स तथा भेषभूषाले दृश्यको महत्त्व फरक पार्छन्। डायलगको थिम अनुसार पात्रहरू बगेका छन्। पहिलो एनिभर्सरीमा जर्जले लगाएको गुलाबी रंगको सर्टले डोरिसलाई जति रोमान्टिक देखाएको थियो, त्यससँगै उसको लुगामा चमक उड्दै जान्छ।
ऊ जिम्मेवारी र पीडाले थिचिँदै गएको छ। त्यसको ठीक विपरित नाटक अन्तिम हुँदै गर्दा डोरिसको कपडा पहिलाभन्दा रंगीन लाग्छ। ऊ सफलताको उचाइमा छे। पात्रमा पूरा लगानी गर्ने हो भने नाटकलाई कसिलो देखाउन सकिन्छ भन्ने प्रमाण छोड्न नाटक सफल छ।
ग्रोस इनडिसेन्सी
चर्चित लेखक ओस्कार वाइल्ड बबरमहल रिभिजिटेडको चोकको एक अदालतमा उभिन्छन्।
‘ग्रस इन्डिसेन्सी’ को आरोपमा। यी दुई अक्षर समलिंगी सम्बन्धलाई अवैधानिक बनाउन प्रयोग गरिन्थ्यो।
नाटकले वाइल्डलाई पुनर्जीवित गर्छ। शकुन्तलाको औंठीमा जस्तै दर्शकलाई उनी बाँचेको युगमा लैजान्छ। उनलाई आफ्नो बारेमा बोल्न दिन्छ। देवकोटालाई त्यसरी नै बोल्न लगाए के/के बोल्थे होला?
अरूको महशुसलाई बुझ्न असफल समाजको कथा हो यो।
नाटकमा एउटा डायलग छ जहाँ ओस्कार वाइल्ड भन्छन्, ‘तिमी अहिले जुन निर्णय गर्दैछौ, एक दिन पछुताउनुपर्नेछ।’
अदालतले पछुतो मान्छ कि मान्दैन?
यसले दुई शताब्दीलाई एकै ठाउँमा मिसाएको छ। विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतले समलिङ्गी सम्बन्धलाई अझै अप्राकृतिक भनेको छ। वाइल्डले ऊ बेलै प्रश्न गरेका थिए ‘यो कस्तो महसुस हो तिमीहरू बुझ्दैनौ।’ एक अर्कालाई बुझ्न नसक्ने दुरीमा उभिएका छौं हामी। सायद आफैलाई नबुझेर अबुझ भइरहेछौं।
नाटकको सबल पक्ष भनेको यसले प्रयोग गरेको रिफरेन्स नै हो। नाटकमा केवल वाइल्ड पात्र भएका छैनन्। उनलाई मुद्दा लगाउने व्यक्तिको बायोग्राफीमा भएका शब्दहरू डायलग भएका छन्। उनको विषयमा पत्रिकामा लेखिएका हेडिङ पात्र भएका छन्। अदालतमा वकिलले सोधेको प्रश्नको जवाफ उनका कविताहरू दिन्छन्। उनले प्रिय युवकलाई लेखेका सुन्दर प्रेम चिठ्ठीहरू संवाद गर्छन्।
यसमा धेरै ड्रामाटिक डिभाइसहरू छन् जसलाई नेपाली रङ्गमञ्चमा प्रयोग गर्न सकिन्छ। टाइम ल्याप्स देखाउन प्रयोग गरिएको न्यारेटिभ, दुई भिन्दै लोकेसनमा भएका पात्रलाई जोड्न प्रयोग गरिएको पत्र वाचन र न्यारेटिभ सँगसँगै बगाइएको दृश्यले नाटकलाई दिने गति। सँगै ओपन स्पेसमा देखाइएको प्रस्तुति।
कुनै अमर पात्र वा युगको कथा नाटकमा कसरी लेखिन सक्छ भन्ने कुरा यो नाटकले बुझाउँछ।
तीन नाटकमा के उस्तै, के फरक?
सबै नाटकमा भेटिने एउटै विषय छ कम्प्लेक्स सब्जेक्ट म्याटर र त्यसको ट्रिटमेन्ट।
पहिलोले वर्तमान समय र कालिदासको समयलाई एकैठाँउ उभ्याएको छ। पात्रहरू विभिन्न तहमा निर्माण गरिएका छन्।
दोस्रो नाटकमा केवल दुई पात्र छन् तर त्यसले २४ वर्षको समय भन्छ। पात्रहरू कम हुँदा नाटकको पुरै झुकाव पात्र निर्माणमा केन्द्रित रहन्छ। पात्रको भावनात्मक, मानसिक अवस्था सँगै समाजमा परेको परिवर्तनको असर कसरी पर्छ भन्ने बारेमा निक्कै गहन काम गरिएको छ। त्यो गहिराइमा पात्रहरू निर्माण हुनु र पुर्याउने चेष्टा गरिनु महत्त्वपूर्ण कुरा हो।
तेस्रो नाटक डकु ड्रामा भएकाले ओस्कार वाइल्डको लेखन, जीवन र जीवनसँग सम्बन्धित धेरै कामहरू डायलगमा आएका छन्। त्यहाँ भएका कुनै पनि डायलग काल्पनिक छैनन्। एउटा नाटककार र कलाकारमा हुनुपर्ने पर्याप्त अध्ययन, र विषय र पात्रप्रतिको गहनतालाई बुझ्नलाई तीन वटै नाटक सेतु बन्न सक्छन्।
तीन वटै नाटकले दर्शकको उपस्थिति खोज्छन् तर दर्शकसम्म पुग्ने तरिका फरक छ। शकुन्तलाको औंठीले मञ्चका पात्रहरू हुँदै नाटक गरिरहेका मानिसहरूको कथा भन्छ। दर्शकलाई बारम्बार सोच्न लगाउँछ कि कुन साँच्चै भइरहेको छ र कुन नाटकमा भइरहेको छ। यसको मल्टिलेयरले दर्शकलाई अगाडि र पछाडि तानिरहन्छ।
तर ‘सेम टाइम नेक्स्ट इयर’मा पात्रहरूले दर्शकलाई आफ्नो यात्रा महशुस गराउँछन्। म भोलि कस्तो हुन्छु वा समाजको परिवर्तनको असर मेरो सोचाईमा कसरी आइरहेको छ भन्ने प्रश्न सोध्न लगाउँछन्। त्यहाँ भइरहेका पात्रसँगै दर्शकहरू आफ्नो यात्रा सुरु गर्न थाल्छन्। पात्रहरूको परिवर्तित बुझाइ र अवस्थामा आफूलाई खोज्न थाल्छन्।
‘ग्रोस इनडिसेन्सी’ ले दर्शकहरूको सक्रिय सहभागिता खोजेको छ। पात्रहरू दर्शकलाई सम्बोधन गर्छन्। अदालतको सिनमा न्यायाधीशले दर्शकलाई वाइल्ड दोषी हो कि हैन भनेर भोट गर्न लगाउँछन्। नाटकको फैसलाले वाइल्डलाई दोषी देखाउँछ तर धेरै दर्शकहरू निर्दोष देखाइरहेका हुन्छन्। त्यसले शक्तिमा बस्ने मानिसको सोच साधारण मानिसभन्दा सङ्कुचित छ भन्ने देखाउँछ।
तीनवटै नाटककमा निर्देशकको उपस्थिती नगन्य छ।
ग्रस इन्डिसेन्सीको पोस्टर डिजाइन मनपर्यो। ओस्कार वाइल्ड नाटकभर तथा जीन्दगीभरनै पनि समलिङ्गी हुनुको पीडा झेल्छन्। उनलाई एक युवकमाथि यौन शोषण गरेको आरोप लाग्छ। जसको कारण उनी जेल पर्छन्। नाटकभर र जीवनभरनै उनले प्रेमको खातिर समाजसँग लड्नुपरेको छ। जुन कुरा पोस्टरमा सजिलै देख्न सकिन्छ।
नाटकको ब्ल्याक एन्ड ह्वाइट नाम र बीचमा उभिएका वाइल्डको वर पर दुई धार। एकातिर प्रेम र अर्कोतिर अदालत। ओस्कार एकातिर र ‘वाइल्ड’ एकातिर।
शकुन्तलाको औंठीमा पनि सेटमा तीन फरक पेन्टिङलाई देखाइएको छ। सँगै पोस्टरमा पनि महिला प्रधान नाटकमा महिलाको दोस्रो लेयर खोल्नेगरी दुई फरक महिला अनुहारहरू देखिएका छन्। तीनको नाक र आँखाको बनोट मिल्दा छन्। रङ्ग फरक छ तर दुवैका आँखा बन्द छन्।
पहिलेको शकुन्तला र अहिलेकी कनक दुवै फरक समयका महिला पात्र हुन् तर पनि उनीहरूले गर्ने सङ्घर्ष फरक छ भन्ने देखाउन पोस्टर सफल छ।
सेम टाइम नेक्स्ट इयरले पोस्टर डिजाइनमा अझै काम गर्न सक्थ्यो।
तीन वटै नाटकमा संगीत प्रयोग हुने ठाउँ थियो। भएको छ। पहिलोमा संगीत एदकमै शक्तिशाली छ। बीचबीचमा आउने गीतले पात्रहरूलाई एउटा उचाइमा पुर्याउँछन्। तर त्यसलाई बाँकी पात्रहरूले टिप्न सक्दैनन्।
दोस्रो नाटकमा संगीतलाई बदलिँदो समय बुझाउन प्रयोग गरिएको छ। त्यहाँ पियानोको प्रयोग पनि छ जुन सिम्बोलिक पनि छ। त्यसले भिन्न समयमा जर्जको पात्र निर्माण गर्नमा महत्त्व पुर्याएको छ। ऊ जब जब भावनात्मक रूपमा कमजोर हुन्छ, पियानोमा पुगिहाल्छ।
तेस्रो नाटकमा संगीत प्रयोग गर्ने ठाउँ थियो तर गरेको छैन।
तीन वटै नाटक कहाँ कमसल?
नेपाली थिएटरको लागि ठुलो चुनौती विदेशी नाटक छान्नुमा हैन। विषय छान्नुमा पनि हैन। त्यसलाई हो प्रस्तुतिको माध्यमबाट देखाउँदा पूर्ण न्याय गर्न नसक्नु हो। पहिलो नाटक इम्याच्युअर थिएटर हो जसलाई निभाउने सबै इम्याच्युअर कलाकार नै छन्। केही पात्रबाहेक बाँकीको अभिनय फिक्का छ। उनीहरू पात्रको गहनतामा छिर्न सकेका छैनन्।
एउटा गहन नाटकले माग्ने गहनता पक्कै पनि तीन महिना अभिनय सिकेका कलाकारले गर्न सक्दैनन्। कक्षा लिएका विद्यार्थीहरूको लागि उपयुक्त हुने नाटकको खोजी अहिले नेपाली सिनेमाको पहिलो एंगल हो। यसले भोलिको दिनमा अझै समस्या ल्याउनेछ। स्टेजमा पुग्नेहरूको सङ्ख्या बढाउनेछ तर छाप छोड्नेहरू घट्नेछन्। स्टेजमा हुने पात्रले छाप छोडेन भने?
यो मामिलामा ‘सेम टाइम नेक्स्ट इयर’ अन्यभन्दा परिपक्व देखिन्छ। तर त्यहाँ पनि बेलाबेला डायलगसँग निर्माण हुने भाव अनुहारमा अभिव्यक्त सहज रुपमा हुँदैन। विशेषगरी एउटाले डायलग बोलेको बेला अर्को पात्रले देखाउने प्रतिकृया अत्यन्तै सुक्ष्म तर महत्वपूर्ण हुन्छ। त्यसमा नाटक बेलाबेला चुक्छ। कुनै कुनै बेला पात्रहरू अभिनय छोडेर डायलग डेलिभरीमा सीमित भइदिन्छन्।
यही समस्या ग्रस इनडिसेन्सीले पनि भोगेको छ। धेरै पात्रहरूलाई नाटक केवल डायलग डेलिभरी हो भन्ने मात्र लागेको छ।
तीन वटै नाटक टेक्स्टको हिसाबमा उत्कृष्ट छन् तर नेपाली रङ्गमञ्चले कुनै नयाँ ट्रिटमेन्ट दिन सकेको छैन। डायलग केवल रटिएको बाक्य हैन भन्ने कुरा नयाँ र पुराना सबै कलाकारहरूले बुझ्नु जरुरी छ।
नेपाली थिएटरले के सिक्ने?
सिक्न लायक धेरै कुरा छन्। यी तीन वटै नाटकले कलाकार, लेखक र दर्शकलाई धेरै इलिमेन्ट दिएका छन्। पहिलो कुरा त कुनै पनि बिधाको नाटक आफैमा कमजोर हुने भन्दा पनि त्यसमा कथा भन्दा खोजी गरिने नवीनताले फरक पार्ने हो भन्ने सिकाइ छ। यी तीन वटै बिधामा लेखक र निर्देशकको एप्रोच फरक छ। विषयलाई हेर्ने दृष्टि अलग छ। तर न्याय गरेका छन्।
तीन वटै नाटकहरू सन्दर्भ स्रोतमा धनी छन्। एउटा कोठाबाट २४ वर्ष देखाउन सकिने जस्तो पद्धति हाम्रा लेखकहरूले सिक्नुपर्छ। सधैँ यथार्थवादी धारमा लेखिरहने हामीले त्यसमा कथा भन्ने शैलीमा नवीनता खोज्नुपर्छ। केही प्रयोग पक्कै भएका छन् तर तीनमा लेखकिय र निर्देशकिय ट्रिटमेन्ट अहिले पनि कम छ। पात्रहरूले स्टेजमा देखाउने कुरा केवल आइसवर्गको टुप्पो हुनुपर्छ। सानो होस् वा ठूलो कुनै पात्र नाटकमा हुनुको पछाडि कारण के हो भन्ने कुराको गहन खोजी गरिनुपर्छ।
डायलग केवल वाक्य हैन पात्रले भोगेको जीवन हो। दोस्रो नाटकमा जर्जको बोलीमा कम्पन महशुस गर्नुभयो होला। ऊ त्यसै काँपेको हैन। दिनदिनै खिँइँदै र असुरक्षित महसुस हुँदै गरेको मानिस हो।
ग्रस इनडिसेन्सीमा वाइल्ड भन्छन् ‘कुनै कुरा कसरी पढिन्छ त्यसले फरक पर्छ।’
शकुन्तलाको औंठीमा कनकलाई उनको जीवनको कुनै घटनालाई सम्झिएर शकुन्तला बन्न प्रयत्न गर भनेर निर्देशकले त्यसै भनेका हैनन्।
पात्रले बोल्ने बोल्ने डायलगमा ऊ भित्रको साधना देखिनुपर्छ। अनि पो नाटकको स्टेज।
यी तीनै नाटकले नेपाली रङ्गमञ्च र यससँग जोडिएका सबैलाई खोज्ने बनाओस्। भोको बनाओस्।