गुड फ्राइडे सिनेमा
यो सन् १९९० दशकतिरको एक परिवारको कथा हो। यस्तो परिवार जसको जीवन एउटा घडीले बदलिदिन्छ।
परिवारका मुख्य सदस्य हुन् डाक्टर सेथुरूमन (सूर्या) जो वैज्ञानिक र चर्चित घडी मेकानिक हुन्छन्। उनी आफ्नी श्रीमती प्रिया (नित्या मेनन) र भर्खरै जन्मेका छोरा मनिकन्दनसँग बस्छन्।
सेथुरमन आफ्नो काममा निकै मिहिनेती हुन्छन्। घरमै प्रयोगशाला बनाएर काम गरिरहेका उनी केही नयाँ आविष्कार गर्न लागिपरेका छन्।
घडीमा रूचि भएका वैज्ञानिक सेथुरमन एउटा विशेष घडी बनाउँदै छन्। उक्त घडीमार्फत् २४ घन्टा अगाडिको र पछाडिको समयमा जान सकिन्छ। त्यसैले उनले यसको नाम नै 'प्रोजेक्ट-२४' राखेका छन्।
एक वैज्ञानिकका लागि यो सफलताले कत्रो अर्थ राख्छ, सहजै अनुमान गर्न सकिन्छ। तर जुन दिन उनी यो घडी बनाउन सफल हुन्छन्, त्यही दिन उनको जीवनको अन्तिम दिन बन्छ। यसको कारण अरू केही भवितव्य होइन, उनकै जुम्ल्याहा दाइ अथरेया (सूर्या) हुन्छन्।
उनलाई सानैदेखि सेथुरमनसँग रिस छ। यही घडीका लागि उनी सेथुरमनकी पत्नी प्रियाको हत्या गरिदिन्छन्। साना छोरा मनिकन्दनलाई बचाउन भने सेथुरमन सफल हुन्छन्। तर उनी आफू बाँच्दैनन्।
त्यसपछि कथा २६ वर्षपछाडि पुग्छ।
मनिकन्दन आफ्नी आमासँग बस्छन्। उनी सिपालु घडी मेकानिक हुन्। मनिकन्दनको साथमा बच्चैदेखि एउटा बाकस हुन्छ। नखुल्ने त्यो बाकसभित्र के छ, कसैलाई थाहा थिएन। त्यसको चाबी पनि हुँदैन।
त्यसैबीच बूढा भइसकेका अथरेयाको होस आउँछ। उनी २६ वर्षदेखि अस्पतालमा हुन्छन्। कोमाबाट फिर्नेबित्तिकै उनी त्यही घडीको खोजीमा लाग्छन् जुन उनले आफ्ना भाइसँग खोस्न खोजेका थिए। उनी विगतमा गएर आफ्नो भविष्य बदल्न चाहन्छन्। तर उनलाई थाहा हुँदैन, त्यसले एक दिनको समय मात्र फेरबदल गर्न सक्छ।
उता मनिकन्दनले एकदिन आफूसँग भएको बाकसको चाबी भेट्टाउँछन्। चाबी खोलेपछि उनले त्यहाँ जे भेट्छन्, त्यसले बगिरहेको कथाको धार बदलिन्छ।
बाकसमा त्यही घडी हुन्छ जुन सेथुरमनले बनाएका थिए।
मनिकन्दन (यो भूमिकामा पनि सूर्या नै छन्) आमा सत्याभामासँग बसिरहेका हुन्छन्। उनलाई बुवा सेथुरमन, आमा प्रिया वा बडाबा अथरेया, कसैका बारेमा केही जानकारी हुँदैन।
तर एकदिन मनिकन्दन र अथरेयाको आमनेसामने हुन्छ। मनिकन्दन आफ्नै बूढो स्वरूप देखेर तीनछक खान्छन्। उनी छक्क पर्दापर्दै अथरेयाले उनलाई मृत्युको मुखमा धकेलिदिन्छन्।
यो अनुहारपछाडिको रहस्य थाहै नपाई मनिकन्दनको मृत्यु हुन्छ।
भूत र भविष्यको एक दिन मात्र अगाडि जानसक्ने त्यो घडी हात पारेर के अथरेयाले आफ्नो जीवन बदल्न सक्लान्?
सेथुरमनले आफ्नो ज्यान फालेर मनिकन्दनलाई अथरेयाबाट बचाएका हुन्छन्। के उनको नियति २६ वर्षपछि उनै अथरेयाको हातबाट मर्नु थियो?
वा, यो कथाले नसोचेको अर्कै मोड लिन्छ?
यसका लागि तमिल फिल्म '२४' (टाइम स्टोरी) हेर्नुहोला। साइन्स फिक्सन फिल्ममा रूचि राख्नेका लागि यो फिल्मले गजब मनोरञ्जन दिन्छ।
यसमा दक्षिण भारतका चर्चित अभिनेता सूर्याको तेहेरो भूमिका छ। अभिनेत्रीद्वय नित्या मेनन र सामन्था रूथ प्रभुका साथमा अजयको पनि मुख्य भूमिका छ।
विक्रम कुमारको निर्देशनमा बनेको फिल्म '२४' ले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो। बक्स अफिसमा पनि यो फिल्म सय करोड भारू कमाउन सफल भएको थियो। १७ भन्दा धेरै अवार्डमा मनोनयनमा परेको फिल्म '२४' ले ९ वटा अवार्ड जितेको थियो।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।