पहिलो पटक अस्कर अवार्ड जित्ने एसियाली महिला भएसँगै चर्चामा छिन् मलेसियन अभिनेत्री मिसेल योह। उनले फिल्म 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स' बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन्।
यसै फिल्मबाट उनले गोल्डेन ग्लोब र स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितेकी थिइन्।
अस्कर जित्दा आफूलाई धेरै खुसी लागेको र बधाइ दिने सबैलाई उनले धन्यवाद दिएकी छन्।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्समा उनको आलेख प्रकाशन भएको छ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमकी सद्भावना दूत समेत रहेकी ६० वर्षीय मिसेलले उक्त लेखमा आफूले एउटा जानकारी दिन चाहेको पनि बताएकी छन्।
उनले आठ वर्षअघि नेपालमा हुँदा आफ्नो जीवनमा ठूलो परिवर्तन आएको लेखेकी छन्।
२०७२ मा नेपालमा भुइँचालो आउँदा उनी नेपालमा थिइन्।
उनले भूकम्प अनुभवबारे लेखेकी छन्, ‘यो सन् २०१५ अप्रिल २५ को कुरा हो। म र मेरा श्रीमान नेपाल घुम्न गएका थियौं। अचानक मैले पृथ्वी हिंस्रक रूपमा काम्न थालेको महसुस गरेँ। उक्त भूकम्पले देशलाई तहसनहस बनायो। बाँच्नका लागि ढोकासम्म पुग्न कठिन थियो। म आफ्नो खुट्टामा उभिन सकिरहेकी थिइनँ। हामी घण्टौंपछि बाहिर निस्कियौं।
गत महिना टर्की र सिरियामा गएको विनाशकारी भूकम्पले फेरि नेपालका बारेमा सोच्न बाध्य भएँ। सिरियाको सामाजिक आर्थिक अवस्था कमजोर छ। त्यहाँका ९० प्रतिशत मान्छे गरिबीमा बाँचिरहेका थिए। धेरै अहिले घरबारविहीन छन्। उनीहरूलाई आफ्नो जीवन पुनर्निर्माण गर्न वा आफ्नो परिवारलाई सुरक्षित राख्न स्रोतसाधनको अभाव छ।
संकटहरूले विद्यमान असमानताहरूलाई उजागर गर्छन्। गरिबीमा बाँच्नेहरू, विशेषगरी महिला र केटीहरूले पीडा भोग्छन्। विपदले सरसफाइ, स्वास्थ्य सुविधा र सुरक्षाको अभावले महिलाहरूलाई असमान रूपमा असर गर्छ। मैले यी सबै कुरा नजिकबाट देखेकी छु। नेपाल भ्रमणले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ।'
महिलाहरू नेतृत्वमा नआएका कारण संकटको अवस्थामा धेरै असर महिलाहरूलाई नै हुने पनि उनले बताएकी छन्।
‘म ६० वर्षकी भएँ र मैले बल्ल पहिलो अस्कर जितेँ। समाजले महिलाहरूबाट के अपेक्षा गर्छ भन्ने कुरामा म सचेत छु। मलाई थाहा छ विपत्तिको अग्रपंक्तिमा काम गर्ने महिला हिरोहरूसँग मेरो तुलना हुँदैन। महिलाहरूले आफ्नो समुदायको पुनर्निर्माण गरिरहेका छन्। बालबालिका र वृद्धवृद्धाको हेरचाह गरिरहेका छन्। त्यसैले नेतृत्वमा महिलालाई नछुटाऔं,’ उनले भनेकी छन्।