गायक सचिन रौनियारको स्वरसँगै अभिनय रहेको गीत 'मरिहत्ते' सार्वजनिक भएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो। सन्तोष सुनारको शब्द र संगीत रहेको म्युजिक भिडिओमा सचिनसँगै अभिनेत्री नीता ढुंगानालाई देख्न सकिन्छ।
‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ। निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’, गायक रौनियारले भने।
उनले ‘छ भनौं कि छैन भनाैं, यो वनमा छैन क्यारे न्याउली कराउँदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे’ लगायत थुप्रै गीत गाएका छन्।
निकेश खड्काद्वारा निर्देशित भिडिओमा आर्थिक अवस्था कमजोर रहेको दम्पतिको कथा देखाइएको छ। बच्चालाई जीवनको अमुल्य सपना बनाएका दम्पतिले स्वास्थ्य समस्या, सामाजिक संघर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ।
हरी हुमागाईंले छायांकन गरेको गीतलाई विकास धमलाको सम्पादन गरेका हुन्।