दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म 'पशुपति प्रसाद २: भष्मे डन' को शुभमुहूर्त गरिएको छ।
शुक्रबार पशुपतिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो।
शुभमुहूर्त समारोहमा फिल्मका विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर उपस्थित थिए।
आगामी चैत १० गतेबाट छायांकन सुरू हुने फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्मको निर्माता पनि खगेन्द्र स्वयम् हुन्।
टुकी आर्टस् ब्यानरमा निर्माण हुने फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहनेछ। यो फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ।
२०७३ सालमा रिलिज भएको फिल्म 'पशुपति प्रसाद' को स्पिन-अफको शीर्ष भूमिकामा विपिन कार्की छन्। ‘पशुपति प्रसाद’ मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए।
फिल्ममा ७ वर्षभित्र भष्मे डनको जीवनमा आएका उतारचढावलाई फिल्ममा देखाइने छ।